प्रहार समाचार । तनहुँ, १ असार २०८२ आइतवार । तनहुँको भिमाद नगरपालिकाले दलित महिलाहरूलाई नेतृत्वमा सक्रिय बनाउने विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ। यसैको पहिल्लो उदाहरण हो दलित महिला लक्षित ३ दिने नेतृत्व विकास पुनर्ताजगी तालिम ।

आज असार १ गते देखि ३ गतेसम्म सञ्चालन हुने तालिममा बोल्दै नगर प्रमुख दधिराज सुवेदीले अब दलित समुदायले ‘दलित’ भन्ने परिचयको परिधि हटाउँदै समाजमा सशक्त र आत्मनिर्भर पहिचानसहित अगाडि बढ्नुपर्ने बताए। सीमित व्यक्तिहरूलाई लक्षित गरेर प्रभावकारी तालिम दिनुपर्नेमा जोड दिँदै उनले सिपमूलक, कृषि तथा आम्दानीमुखी कार्यक्रमहरूमा ध्यान दिन आग्रह गरे ।

उपप्रमुख शारदा खनालले तालिमले महिलाहरूको नेतृत्व क्षमतामा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिन्। उनले विगतमा पनि यस्ता कार्यक्रमहरू नगरपालिकाबाट सञ्चालित हुँदै आएको जानकारी दिँदै महिलाहरूको शैक्षिक, राजनीतिक, आर्थिक र सामाजिक सहभागिता बढाउन आगामी आर्थिक वर्षको बजेटमै प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरिन्। कार्यक्रममा कार्यपालिका सदस्य इन्दिरा खड्का, पूर्व कार्यपालिका सदस्य डिना गोतामे र सञ्चारकर्मी शालिकराम सुनारको उपस्थिति रहेको थियो।
तालिममा भिमाद नगरपालिकाका ९ वटै वडाबाट प्रतिनिधित्व गर्ने ३० जना महिलाहरूको सहभागिता रहेको छ। सहभागी महिलाहरूलाई नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि, वर्गीय अधिकारबारे जानकारी, क्षमता विकास, निर्णय प्रक्रियामा सहभागिता जस्ता विषयमा प्रशिक्षण दिइएको छ। कार्यक्रमको सहजकर्ताको रूपमा पत्रकार अन्जान परियारले भूमिका निर्वाह गरिरहेका छन्।

कार्यक्रमको सञ्चालन सूचना अधिकारी टेकावती ढकालले गरेकी थिइन् भने कार्यपालिका सदस्य संगीता विश्वकर्माले स्वागत मन्तव्य दिएकी थिइन्। तालिमले महिलाहरूको मनोबल र आत्मविश्वास अभिवृद्धि गर्दै समाजमा उनीहरूको भूमिकालाई थप सबल बनाउने अपेक्षा गरिएको छ।
























