प्रहार समाचार । तनहुँ, १ असार २०८२ आइतवार । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तर्जुमा सन्दर्भमा सञ्चार क्षेत्रसँगको परामर्श कार्यक्रम आज नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।कार्यक्रममा पत्रकारहरूले नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई सुझाव दिँदै बजेटलाई जनमुखी, पारदर्शी र दीर्घकालीन समाधानमुखी बनाउन जोड दिएका थिए।

पत्रकारहरूले रोजगार तथा स्वरोजगारलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिएका थिए। पछिल्ला वर्षहरूमा विकास निर्माणका काम ढिला हुने, बजेटको कार्यान्वयनमा कमजोरी देखिने र गुणस्तरमा प्रश्न उठ्ने अवस्था रहेको भन्दै कार्यान्वयन र अनुगमनलाई सुदृढ बनाउन सुझाव राखिएको थियो।
कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले पत्रकारहरूको सुझावप्रति आभार व्यक्त गर्दै यस्ता सुझावहरू आगामी बजेट निर्माणमा समावेश गरिने बताए। उनले डिजिटल प्रशासन, पारदर्शिता र नागरिक सहभागिता सुनिश्चित गर्दै नीति तथा कार्यक्रम अघि बढाइने प्रतिवद्धता पनि व्यक्त गरे।

पत्रकारहरूले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत सेवामा देखिएको समस्या समाधान गर्न दीर्घकालीन योजना के कस्ता छन् भन्ने जिज्ञासा राखेका थिए। जवाफमा प्रमुख न्यौपानेले जलवायु परिवर्तन, बाढीपहिरो तथा विपद् व्यवस्थापनका लागि वडा तहबाटै रकम सुनिश्चित गरिने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, पूर्व अध्यक्ष उज्वल पौडेल, पूर्व उपाध्यक्ष एवं प्रहार अनलाइन मिडियाका सम्पादक शंकरराज नहर्की, प्रेस युनियनका निवर्तमान अध्यक्ष अमरराज नहर्कीलगायतका सञ्चारकर्मीहरूले आ–आफ्ना धारणा राखेका थिए।

प्रमुख न्यौपानेले व्यास नगरभित्रका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन वितरण लाई निरन्तरता दिने, एक जना खोज पत्रकारीता गर्ने पत्रकारलाई पुरस्कृत गरिने तथा कार महासंघको समन्वयमा पत्रकारहरुको बीमालाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए ।
























