हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम यस्तो रहने छ :

प्रहार समाचार । काठमाडौं, १ असार २०८१ आइतवार । देशभर मौसम असामान्य हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षासहित केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र हिमपात हुने सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने पश्चिमी भेगमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। काठमाडौं उपत्यकासहित बागमती र कोशीका केही स्थानमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कतिपय ठाउँमा चट्याङसहित वर्षा हुने जनाइएको छ।

उच्च पहाडी र हिमाली भूभागहरूमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही उच्च स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने तथा बाँकी उच्च पहाडी क्षेत्रमा पनि हिमपातको संभावना रहेको उल्लेख गरिएको छ। मौसमको यस्तो प्रभावका कारण तापक्रममा समेत गिरावट आउन सक्नेछ।

मौसमको संभाव्य असरलाई ध्यानमा राख्दै महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ। विशेषगरी नदी नालामा पानीको बहाव बढ्न सक्ने भएकाले जलस्रोत नजिक नजान सुझाव दिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button