हेडलाईनसमाचारदेवघाटगण्डकी

देवघाट गाउँपालिकको नमुना सडक परियोजना : समयभन्दा अघि नै सम्पन्न भयो कालोपत्रे

प्रहार समाचार । तनहुँ, ३१ जेठ २०८२ शनिवार । नेपालमा ठेक्का लिएर काम अलपत्र पार्ने प्रचलनकै बीच तनहुँको देवघाट गाउँपालिका–५ मा समयअघि नै सम्पन्न भएको सडक कालोपत्रेले उदाहरणीय सफलता प्रस्तुत गरेको छ। ठिमुरा पुलदेखि वडा कार्यालय घिनाटारसम्मको सडक निर्माण तोकिएको मितिभन्दा झन्डै एक महिना अघि सम्पन्न भएपछि निर्माण कम्पनीको कार्यशैली र सरकारी समन्वयको प्रशंसा सुरु भएको छ।

देवघाट–५ को ठिमुरा पुलबाट वडा कार्यालय घिनाटारसम्म जोड्ने ७३० मिटर लम्बाइको सडकको कालोपत्रे काम समयभन्दा अघि सम्पन्न भएको हो। चितवनस्थित दक्ष इन्जिनियिरिङ कम्पनीले २०८१ कार्तिक २७ मा सडक डिभिजन कार्यालय चितवनसँग सम्झौता गरी २०८२ असार २० भित्र सम्पन्न गर्नुपर्ने उक्त परियोजना २०८२ जेठ १८ मै पूरा गरेको हो। सडकसँगै ७ सय ३० मिटर पक्की नाला पनि निर्माण गरिएको छ, जसको ४ सय मिटर चितवन डिभिजन र ३ सय ३० मिटर पोखराको पूर्वाधार कार्यालयमार्फत बनेको हो।

१ करोड ५६ लाख रुपैयाँको लागत अनुमान रहेको सडक कालोपत्रे काम प्रतिस्पर्धामार्फत १ करोड ७ लाख ६५ हजार रुपैयाँमा सम्पन्न गरिएको हो। दक्ष इन्जिनियिरिङले समयमै मात्र होइन, तोकिएकोभन्दा अगावै गुणस्तरीय रुपमा काम सम्पन्न गरेर उदाहरणीय काम प्रस्तुत गरेको इन्जिनियर अर्जुन घिमिरेले बताए। डिभिजन कार्यालयको नियमित प्राविधिक अनुगमनले पनि कार्य छिटो र प्रभावकारी रूपमा सम्पन्न भएको हो ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाका अनुसार पुल उद्घाटनका क्रममा राष्ट्रपती रामचन्द्र पौडेलले उक्त सडक कालोपत्रे गर्न प्रतिवद्धता जनाएका थिए। सोही अनुसार भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठको समन्वयमा बजेट विनियोजन भई काम अगाडि बढेको अध्यक्ष थापाले बताए। राष्ट्रपतिको अग्रसरता, मन्त्रालयको तत्परता र निर्माण कम्पनीको दक्षताले गर्दा हजारौं स्थानीयवासीहरू लाभान्वित भएका छन्।

निर्माण कार्य प्रभावकारी रूपमा सम्पन्न हुनुमा सडक डिभिजन कार्यालय चितवनको सहकार्य र गाउँपालिकाको नियमित अनुगमन महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष थापाले बताए। यस्ता योजना समयमै सम्पन्न हुन थाले जनताको विश्वास सरकारप्रति बलियो हुने भन्दै उनले धन्यवाद ज्ञापन गरे। कालोपत्रे सडकले देवघाटको पर्यटन, व्यापार र यातायातमा नयाँ गति दिने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button