• विजय अधिकारी (प्रहार संवाददाता) ३१ जेठ २०८१ शनिवार । लमजुङको सुन्दरबजार नगरपालिका–६, बरेटारमा रातको सुत्ने बेला विद्युत सर्टले निम्त्याएको आगलागीले एक परिवारको दुईतले घर जलेर पूर्णरूपमा नष्ट भएको छ। सतर्कता र तिव्र उद्दार प्रयास हुँदैनथ्यो भने आगो अन्य बस्तीमा फैलिने खतरा थियो।

घटना विवरण अनुसार शनिबार राति करिब ११:५५ बजे गोबिन्द बोहोराको जस्ताको छाना भएको दुईतले घरमा अचानक विद्युत सट भएर आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुन्दरबजार, भोटेओडार, जिल्ला प्रहरी कार्यालय लमजुङ, सशस्त्र प्रहरी बल, श्री चण्डी प्रसाद गण, स्थानीय बासिन्दा तथा बेसीशहर नगरपालिकाको दमकल टोली घटनास्थलमा पुगेको थियो।
घर पूरै आगोको चपेटामा परेकाले आगो आसपासका बस्तीमा फैलिने सम्भावना अत्यन्तै उच्च थियो। जोखिम न्युनिकरणका लागि जेसिब प्रयोग गरेर घर भत्काएर आगो नियन्त्रण गरिएको प्रहरीको भनाइ छ। नियन्त्रण कार्यमा सशस्त्र, नेपाल प्रहरी, दमकल टोली र स्थानीय बासिन्दाको सक्रियता प्रशंसनीय रहेको जनाइएको छ।

स्थानीय जनप्रतिनिधि, नागरिक र सुरक्षाकर्मीको संयोजनमा थप मानवीय तथा भौतिक क्षति हुनबाट जोगाइएको हो। आगलागीबाट घर पूर्णरूपमा नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। पीडित परिवारका लागि तत्काल राहत तथा पुनःस्थापना सहयोग आवश्यक रहेकोमा सरोकारवालाहरूले चासो देखाएका छन्।
























