म फर्किएको मान्छे :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुल्दा म एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको संघर्षपछि, असफलताको चुरो आत्मसात् गर्दै, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई एकछिन हेरें, अचम्म माने, अनि फेरि आफ्ना बाटो लागे। कसैले चिनेन।

तर म आफैंलाई चिन्दै थिएँ—म अमेरिका पुगेको थिएँ, म संघर्षमा हारेको थिएँ। म जिउँदो विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।
मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा, पुराना कागजात, र सायद बाँकी रहेको एउटा विश्वास थियो—जसले मलाई अहिलेसम्म टिकाइराखेको थियो।
मैले किन अमेरिका रोजेँ? :
म धेरैजसो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, श्रमको अपमान, र समाजको खुट्टा तान्ने प्रवृत्तिले थकित।
पटक–पटक असफल भएँ। मिडियाबाट पाइलाअघि बढाउन खोजेँ, सफल हुन सकिन। राजनीति गरेँ, राजनीतिमा फिट हुन सकिन। स्रोत–साधन थिएन। समाजले हरेक दिन सम्झाउँथ्यो—”तँ नालायक हौ!”
“विदेश गइस् भने बल्ल केहि हुन्छ” भन्ने भ्रम मनमा घर बनाइसकेको थियो।
मैले अमेरिका रोजेँ—त्यो मेरो विकल्प होइन, अन्तिम प्रयास थियो। त्यो वैधानिक बाटो थिएन, तर जिन्दगी जोगाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ, म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।
यात्रा: आँधीभन्दा तिव्र, जीवनभन्दा थकित :
जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो—सबै पसे मेरो बाटोमा। ती सबै सहँदै अमेरिका छुँदा एकछिन त लाग्यो—म पुनर्जन्मिएको छु। तर त्यो आशा धेरै टिकेन।
अमेरिकामा मैले आफूसँगै सयौं नेपाली भेटेँ—कोही भर्खर पुगेका, कोही जेलमा, कोही शरणको पर्खाइमा।
सबैको कथा उस्तै—घरमा तिरस्कार, देशमा सम्भावनाको अभाव, अनि एउटै लक्ष्य: बाँच्ने।
तर नियति मेरो पक्षमा थिएन। कागज थिएन, कानुनले मलाई अयोग्य ठहरायो। महिनौँ हिरासतमा परेँ। अनि एक बिहान हातमा कागज थमाइयो—”तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।”
फर्किनुको पीडा :
न्यूयोर्कबाट एअर इन्डियाको जहाज चढेर जब नेपाल फर्किँदै थिएँ—अझ भनौं, फर्काइँदै थिएँ—म लाजले पग्लिएर बसेको थिएँ।
न पैसा थियो, न गौरव। म खाली थिएँ—बोरा मात्र होइन, मन पनि।
पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताउँदै थियो, म काठमाडौं झरें। कसैले स्वागत गरेन।
मिडियाले अनुहार देखाएर समाचार बनायो—”गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए”।
सामाजिक सञ्जालमा व्यंग्यको सगरमाथा खडा गरियो—”डॉलर काड्न गएकाहरू बोरा बोकेर फर्किए!”
तर कसैले बुझेन—म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। मलाई महल वा गाडी चाहिएको थिएन—मलाई मेरो आत्मसम्मान चाहिएको थियो।
समाजको निर्ममता :
फर्किएपछि बुझें—समाज उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, पीडामा हाँस्ने।
कोही सोध्थे—”के ल्यायौ?”—जस्तो म किनमेल गर्न गएकाे थिएँ।
कोही हाँस्थे—”नत्र किन फर्किन्थ्यौ त?”
साथीहरू टाढा भए, आफन्त मौन। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ—”यस्तै हुन्छ विदेश जाँदा!”
तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म बाँच्न हिँडेको यात्रालाई ‘असफलताको कथा’ बनाइयो।
मेरो सपना, मेरो भविष्य :
म अमेरिका पैसाका लागि गएको थिइनँ। सुनका चुरा किन्न वा बिहेका खर्च जुटाउन होइन। म आफ्नो जीवनको अर्थ खोज्न गएको थिएँ।
देशमा म जस्तै हजारौँ छन्—सपना देख्ने तर अवसर नपाउने।
यहाँ सफलताभन्दा डर छ—कोही माथि उठ्ला कि भनेर। साथीहरू नै दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ।
म यस्तो समाजबाट गिज्याइएको थिएँ। त्यसैले म गएको थिएँ।
फेरि सुरु गर्न सजिलो छैन :
आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। जिन्दगी हार–जितको खेल मात्रै होइन—अर्थको खोज हो।
म अब फेरि केही सुरु गर्न चाहन्छु—सायद सानो व्यापार, सायद आफ्नै खेत।
तर हरेक बिहान लाग्छ—म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ।
के म दोषी हुँ? के प्रयास गर्नु अपराध हो? के देश छोड्नु देशद्रोह हो?
देशको नीति कमजोर छ—न विदेशिनेलाई रोक्ने उपाय, न फर्किएकालाई अँगाल्ने नीति।
हामी अझै भ्रममा छौं—”विदेश गयो भने सफल, फर्कियो भने असफल!”
यही झुटो परिभाषालाई हामी गहिर्याइरहेका छौँ।
मेरो विन्ती :
तपाईंहरूसँग एउटै अनुरोध छ—फर्केका युवालाई हेप्नुहोस् न, बुझ्नुहोस्।
उनीहरूले प्रयास गरेका थिए, हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफूलाई साबित गर्न चाहन्थे।
तर जिन्दगी सधैँ योजनाअनुसार चल्दैन। कहिलेकाहीँ आँधी आउँछ, सपना च्यातिन्छ, रित्तो बोरा बोक्नुपर्छ।
तर त्यो बोरा प्रयासको शेष हो—त्यसैबाट हामी फेरि सुरु गर्न चाहन्छौं।
अन्तिम शब्द :
म अमेरिका गएँ। फर्किएँ। असफल भएँ। तर म अझै बाँचेको छु।
सपनाहरू अझै बाँकी छन्।
समाजले ठानेको छ—म सकिएँ। तर मेरो भित्र एउटा झिल्को बलिरहेको छ—जुन अब आफ्नै देशमा केही गर्नेछ।
रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अझै उभिएको छु।
कमजोर छु, लाजले भरिएको छु, तर इमानदार छु—र जिन्दगीप्रति अझै आशावादी।
कृपया, मलाई अपराधी नबनाउनुहोस्।
म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ।
अब म यहीं छु—फेरि एउटा सपना बोकेर।
यसपालि कानुनी, इमानदार र पूर्ण नेपाली भएर।
लेखक: सुवास शर्मा
(भर्खरै अमेरिका डिपोर्ट भई नेपाल फर्किएका युवा हुन्। )
























