• सुशिल बि. क. ( प्रहार संवाददाता ) तनहुँ, २९ जेठ २०८२ बिहिवार । अपार प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र ऐतिहासिक पहिचानले चिनिने तनहुँ जिल्ला अहिले लागुऔषध दुव्र्यसनको गम्भीर चुनौतीसँग जुधिरहेको छ। जिल्लाको भौगोलिक स्थिति—मुख्य ट्रान्जिट क्षेत्र, विशेषगरी मुग्लिन जस्ता नाकाहरू—तस्करहरूको लागि सजिलो मार्ग बन्दै गइरहेको छ। जिल्लाको सदरमुकाम दमौलीदेखि साना टोलबस्तीहरूसम्म फैलँदो लागुऔषध समस्याले विशेषगरी किशोर–किशोरी र युवाहरूको भविष्यमा गम्भीर प्रश्न उठाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, पछिल्लो तीन आर्थिक वर्षमा लागुऔषध ओसारपसार तथा सेवन सम्बन्धी पक्राउको संख्यामा निरन्तर वृद्धि भएको छ। २०८१/८२ को वैशाख मसान्तसम्म मात्र ७५ जना पुरुष पक्राउ परेका छन्। विगतको वर्ष ८०/८१ मा यो संख्या १ सय ८ रहेको थियो भने ७९/८० मा ८० जना थिए। महिलाहरूको संलग्नतामा पनि क्रमिक वृद्धि देखिएको छ।

समस्या मात्र होइन, समाधान पनि सम्भव छ :
तर यो अन्धकारपूर्ण दृश्यको विपरीत, स्थानीय समुदाय, विद्यालय, प्रहरी प्रशासन र केही गैरसरकारी संस्थाहरूले समस्या समाधानका लागि सकरात्मक पहल थालिसकेका छन्। प्रहरी प्रशासनले जिल्लाको सिमा नाकाहरूमा कडा निगरानी बढाएको छ। विद्यालयहरूमा सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन् भने युवामाझ परामर्श (काउन्सेलिङ) सेवा विस्तारको पहल समेत भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्ष बिरेन्द्र शाही समुदायमै जनचेतना फैलाउने काम भइरहेको र लागुऔषध नियन्त्रणका लागि स्थानीय निकाय र प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउँछन् । उनले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा लागुऔषध, साईबर क्राईम, बालविबाह र सडक सवारी सम्बन्धी कानुनी व्यवस्थाको बारेमा समेत निरन्तर प्रशिक्षण प्रदान गरिंदै आएको बताए ।

” तनहुँमा लागूऔषधको पहुँच, चेतनाको अभाव, र अपर्याप्त पुनर्स्थापना सुविधाहरूले विशेष गरी युवाहरू र विद्यालय छोड्नेहरूमा चिन्ताजनक प्रवृत्तिलाई योगदान गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

उनले भने जिल्लाको मुख्य ट्रान्जिट क्षेत्र मुग्लिन पर्ने साथै चितवन र भारत सिमा क्षेत्रबाट नजिक पर्ने भएको हुनाले ट्रान्जिटमा पहिलाका वर्षभन्दा अहिले लागू औषध ओसारपसार बढ्दै गएको स्विकारे । आम जनता माझ जनचेतना फैलाउन विभिन्न बिधालय ,टोल र समुदायमा सचेतना मुलुक कार्यक्रम संचालन गर्दै आएको र लागू औषध नियन्त्रण गर्न जिल्लाको सिमा क्षेत्रमा कडा निगरानी बडाएको बताए। जिल्लामा लागु पदार्थ ओसारपसार गर्ने वा बेच्बिखन गरेको जानकारी आउन साथ जिल्ला प्रहरी कार्यलयद्वारा प्रहरी टोलि खताई निजलाई प्रहरीको नियन्त्रणमा लिने गरेको थापाले बताए ।

उनले आम सर्वसाधारण माझ लागू पदार्थ सम्बन्धि कुनै पनि जानकारी आए सङै नजिकैको प्रहरी कार्यलयमा सम्पर्क राख्न समेत आग्रह गरेका छन्। आफ्ना छोरा छोरीलाई पूर्ण नियन्त्रण र निगरानीमा राख्न आम अभिभावकहरुलाई अनुरोध पनि गरे ।

जिल्लाको सिमा क्षेत्र र बजार क्षेत्रहरुमा निगरानी :
यसै सन्दर्भमा, जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाको सिमा क्षेत्र र बजार क्षेत्रहरुमा विशेष निगरानी बढाएको छ। युवाहरूलाई लक्षित गर्दै सकारात्मक जीवनशैली अपनाउन, युवालाई खेलकुद, आय आर्जन र सिर्जनशील काममा लाग्न जनचेतनामूलक कार्यक्रम विद्यालय तथा कलेजहरुमा सञ्चालन गरिरहेको छ।
शिक्षा, परामर्श र पुनर्स्थापना – तिनै स्तम्भ आवश्यक :
दमौली अस्पतालका प्रमुख डाक्टर परिवर्तन बराल लागू औषध दुर्व्यसनले एचआईभी, मानसिक रोग, आत्महत्याजस्ता समस्यालाई निम्त्याउँने बताउँछन् । यद्यपि तनहुँमा दीर्घकालीन उपचार र पुनर्स्थापना केन्द्रहरूको अभाव छ। “यदि राज्य र समाजले मिलेर समयमै हस्तक्षेप गरेन भने, यो एउटा पुस्तालाई गुमाउने खतरा हो,” उनले भने ।

विशेषज्ञहरू र स्थानीय अगुवाहरूको भनाइमा, शिक्षा प्रणालीमा लागुऔषधसम्बन्धी पाठ्यक्रम समावेश गर्नु, विद्यालयमा नियमित काउन्सेलिङ सेवा दिनु, र सरकारी–गैरसरकारी साझेदारीमा पुनर्स्थापना केन्द्र स्थापना गर्नु अत्यन्त जरुरी भइसकेको छ।
अब के गर्ने ?
तनहुँ अब एउटा निर्णायक मोडमा छ—जहाँ यसले या त समस्यालाई बढ्न दिनेछ, या त एकजुट भएर नयाँ पुस्तालाई संरक्षित गर्नेछ। अभिभावक, शिक्षक, प्रहरी, सरकार र समाज सबैले हातेमालो गरी युवा पुस्तालाई पुनः आशाको बाटोमा डोर्याउनु आजको आवश्यकता हो।
























