आँबखैरेनी गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने लक्ष्यसहित कृषकमुखी लोकप्रिय कार्यक्रम अगाडि बढाएको छ। पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि विशेष कृषि कार्यक्रम अन्तर्गत कृषकहरुले उत्पादन गरेको मास, मह र गुन्द्रुक उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि कृषि तर्फ बजेट विनियोजन गरी प्रतिकेजी २५ रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरेको थियो।

यस कार्यक्रमअन्तर्गत गाउँपालिकामा सूचिकृत कृषक समूहहरूले उत्पादन गरेका परिमाणअनुसार अनुदान रकम प्राप्त गरेका छन्। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार कृषि उपजमा आधारित यस्तो प्रोत्साहन कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भर बनाउने मात्र होइन, गाउँमा बाँझो रहेको जमिनको सदुपयोग गरी रोजगारी र आयआर्जनको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ। “हामीले थालनी गरेको यो कार्यक्रमले गाउँमा कृषिमा आकर्षण बढाउनेछ,” अध्यक्ष चुमानले बताए, “अर्को वर्ष यो कार्यक्रमलाई अझ व्यापक बनाएर लैजाने योजना छ।”

कृषकहरूको सक्रिय सहभागिता र उत्साहजनक प्रतिक्रिया देखिएपछि गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ। यसले दीर्घकालीन रूपमा गाउँमा कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षामा टेवा र आर्थिक समृद्धिको आधार तयार पार्ने अपेक्षा गरिएको छ।

























