हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

निर्मल मा.वि.मा पुनर्निर्माण नेपाल शिक्षा प्रतिष्ठानको सहयोगमा बास्केटबल तालिम तथा झोला वितरण कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, २८ जेठ २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका–१, भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा पुनर्निर्माण नेपाल शिक्षा प्रतिष्ठानको सहयोगमा बास्केटबल तालिम तथा विद्यालय सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

अमेरिकन नागरिक अर्नेष्ट शिलर र उनको टोलीले स्थापना गरेको यस प्रतिष्ठानले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका ९० जना विद्यार्थीलाई बास्केटबल खेलको पोशाक (जर्सी) वितरण गर्नुका साथै व्यावसायिक प्रशिक्षकहरूद्वारा खेल तालिमसमेत प्रदान गरिएको हो।

प्रतिष्ठानका बास्केटबल प्रशिक्षक केभिन ब्रासर र उनका सहयोगी चार्ली तथा एली ले विद्यालयमै रहेको बास्केटबल कोर्टमा विद्यार्थीहरूलाई खेल सम्बन्धी आधारभूत सीप सिकाउँदै अभ्यास गराएका थिए। तालिमपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तमबहादुर दरै को अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष नेथन युन्सवर्थ ले विद्यार्थीहरूसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यो सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा कक्षा १ देखि ८ सम्मका ६० जना विद्यार्थीलाई विद्यालय झोला र अन्य आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। सो अवसरमा प्रतिष्ठानका कारेन, जेक, क्रिस, जेन, दिपेन्द्र सापकोटा, सरोज वस्नेत र अर्जुन लगायत विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यार्थीहरूले प्रस्तुत गरेको टप्पा तथा कौरा नृत्यमा प्रतिष्ठानका पाहुना, विद्यालय अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरू पनि रमाउँदै सहभागी भएपछि कार्यक्रम उल्लासमय बनेको थियो। विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत र अध्यक्ष दरैले प्रतिष्ठानले गरेको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गरिने अपेक्षा व्यक्त गरे। कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले विदेशी पाहुनासँग अन्तरक्रिया गर्दै अमेरिकाको शिक्षा प्रणालीबारे जिज्ञासा राखेका थिए।

कार्यक्रमको समन्वयमा अर्जुन, सरोज र दिपेन्द्रको भूमिका उच्च रहेको भन्दै विद्यालय परिवारले विशेष धन्यवाद ज्ञापन गरेको थियो। सो अवसरमा गत वर्ष स्थान व्यासनगर विज्ञान प्रदर्शनी मा प्रथम स्थान हासिल गरेको परियोजनाको समेत अवलोकन गरिएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका खेल संयोजक शिक्षक सुनिल पौडेलले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button