हेडलाईनविचारप्रदेश

तनहुँको छिम्केश्वरी : ऐतिहासिकता, महत्व र सम्भावना

‘तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५, मा पर्ने छिम्केश्वरी  पहाड हाम्रा लागि प्रकृतिको अनुपम उपहार हो । फेदि देखि यसको चुलीसम्म पाइने जैविक विविधता, सुन्दर प्राकृतिक छटा, विविध जातिको भाषा, संस्कृति, चुलीमा बिराजमान कम्तिमा पनि पाँचसय वर्षको इतिहास बोकेकी भगवती माता र बुढी देवी अनि यसको चुलीबाट एकसाथ देख्न सकिने हिमाली श्रृङ्खला, तरेली परेका पहाडी लहर, मर्स्याङ्दी नदीको विशाल फाँट, त्रिशुली नदीको तेज वहाव, सेती नदीको खोँच र भित्री मधेसको समथर भूभाग, चितवन राष्ट्रिय निकुञ्ज, अझ पर देखिने चुरेको मनमोहक दृश्य साँच्चै अवर्णनीय छन् ।’ भन्दै नेकपा (एकीकृत समाजवादी) तनहुँका नेता विद्या ढकाल लेख्छन् :

छिम्केश्वरी तनहुँ कै सबैभन्दा अग्लो (२,१३४ मि.) पहाड । सम्भवत: भित्री मधेससँग जोडिएको अर्थात तल्लो महाभारत श्रृङ्खलाको पनि सबभन्दा अग्लो चुली । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५ मा पर्ने यो पहाड हाम्रा लागि प्रकृतिको अनुपम उपहार हो । फेदि गाईघाट (करिब २०० मि.) देखि यसको चुलीसम्म पाइने जैविक विविधता, सुन्दर प्राकृतिक छटा, विविध जातिको भाषा, संस्कृति, चुलीमा बिराजमान कम्तिमा पनि पाँचसय वर्षको इतिहास बोकेकी भगवती माता र बुढीदेवी (दुखको कुरा स्थानीय बासिन्दाका अनुसार धार्मिक र पुरातात्त्विक महत्वको यिनको मूर्ति हराएको छ) अनि यसको चुलीबाट एकसाथ देख्न सकिने हिमाली श्रृङ्खला, तरेली परेका पहाडी लहर, मर्स्याङ्दी नदीको विशाल फाँट, त्रिशुली नदीको तेज वहाव, सेती नदीको खोँच र भित्री मधेसको समथर भूभाग, चितवन राष्ट्रिय निकुञ्ज, अझ पर देखिने चुरेको मनमोहक दृश्य साँच्चै अवर्णनीय छन् । पश्चिमोत्तर दिशातर्फ हेर्दा देखिने ‘पहाडकी रानी’ बन्दिपुर, मर्स्याङ्दी पारीकी मनकामना माईका साथ त्यहाँको सुन्दर बस्ति(गोरखा), त्रिशुली पारी कविलासपुर गढी (चितवन) साथै सेती नदी पारी रहेको प्याउली गढी (देवघाट)ले यसको महत्वलाई झनै बढाएका छन् । आज हामी यही सेरोफेरोमा रहेर छिम्केश्वरी (छिम्कालेक)को बारेमा संक्षिप्त भलाकुसारी गर्नेछौँ ।


इतिहासको सेरोफेरोमा :
अनादि कालदेखि नै मानव वस्ती भएको पुष्टि भए पनि यस गण्डकी (सप्तगण्डकी नदी) क्षेत्रको इतिहास केलाउँदा हामी करिब सोह्र सय वर्ष पहिलेसम्म पुग्नसक्छौँ । लिच्छवि राजा मानदेवको वि. सं. ५२१ को चाँगुनारायण अभिलेखमा गण्डकी पारी ‘मल्लपुरी’ मा आक्रमण गरी त्यहाँका सामन्तहरूलाई आफ्नो काबुमा लिएको कुरा उल्लेख गरिएको छ । त्यस्तै वि. सं. १३४० को दशकमा यो क्षेत्र सिञ्जा (जुम्ला) राजधानी रहेको खश साम्राज्यको अधिन हुनपुग्यो । वि. सं. १४५० को वरिपरि खस साम्राज्य कमजोर भई बिघटनको अवस्थामा पुग्दा यहाँ फेरि भुरे टाकुरे राज्यहरू जन्मन पुगे । विशेषत गण्डकी क्षेत्रको उत्तरी भूभागमा गुरुङ र दक्षिणी भूभागमा मगरहरूले शासन सञ्चालन गर्न थाले । लमजुङको क्व्होलासोथार गुरुङहरूको उद्गमस्थल र पुरानो राजधानी मानिन्छ । ठ्याक्कै भन्न नसकिए पनि रिब्दीकोट (पाल्पा) लाई मगरहरूको पुरानो आधारस्थल मान्ने गरिन्छ । वि. सं. १५८१ मा मुकन्दसेनले राज्य विस्तार गर्ने क्रममा पाल्पा राज्यमा नमिलाउँदासम्म यस भेगमा मगरहरूकै राज्य चलेको थियो । यही सेरोफेरोमा छिम्केश्वरी माई (भगवती) को स्थापना गरिएको अनुमान गर्नसकिन्छ । वि.सं. १७५३ मा तनहुँका राजा दामोदर सेनले आफ्ना नाति (छोरी मल्लिकावतीका छोरा, गोरखाका राजा पृथ्वीपति शाहका नाति, युवराज वीरभद्र शाहका छोरा) नरभूपाल शाहलाई गोरखाको राजा हुन सहज होस् भन्ने कामनाका साथ छिम्केश्वरी भगवतीको पुरश्चरण गर्न लगाएका थिए भनी इतिहासमा लेखिएको छ । त्यस्तै वि. सं. १८१५ मा तनहुँका राजा त्रिविक्रम सेनले (षैर्‍याहिनी) खैरेनी मुकाम गरी लेखेको एक रजबन्धकी पत्र पनि फेला परेको छ । त्यस यता छिम्केश्वरी माईको दर्शनका साथ प्रकृतिका अनुपम छटाबाट रोमाञ्चित हुन आउने मानिसहरुको संख्या दिनानुदिन बढ्दोछ ।


महत्व :
छिम्केश्वरी जैविक विविधताको अद्वितीय खानी हो । यहाँको फेदीबाट चुलीसम्मको उचाइसम्मको फरक फरक हावापानीका कारण वनस्पति, पशुपन्छीका विविध प्रजाती रहन अनुकूल वातावरण छ । यसको फेदीमा उष्ण हावापानीमा रहने गैँडा, मयुर जस्ता पशुपन्छी बिचरण गर्नसक्छन् भने चुलीमा हिमाली भेगमा पाइने डाँफे, चौंरी रमाउन सक्छन् । बाँदर, चितुवा, झारल, घोरल, रतुवा मृग जस्ता वन्यजन्तु लगायत विविध चराचुरुङ्गीको लागि यो स्वर्गीय वासस्थान नै हो । चुलीको वरिपरि वसन्तमा ढकमक्क लालीगुराँस फुल्नसक्छ । विविध औषधिजन्य वनस्पतिको त यो खानी नै मानिन्छ । यहाँबाट देख्न सकिने धवलागिरि, अन्नपूर्ण, मनास्लु, लामटाङ जस्ता हिम श्रृङ्खलाले कसको मन नलोभ्याउला ? एकै ठाउँबाट सबभन्दा धेरै हिमाल साथै समथर भित्री मधेसको भूभाग देख्न सकिने सायद नेपालकै यो मात्र एक ठाउँ हुनसक्छ । सूर्योदय अनि सूर्यास्तको दृश्य हेर्नका लागि यो भन्दा अब्बल ठाउँ सायद अन्त कतै होला ? यहाँबाट देखिने नदी बेसीदेखि पहाडका तरेलीहरूले यसै मन रोमाञ्चित बनाउँछन् । यहाँका पानीका मूल, छाङ्गा (झरना) देखि लिएर नदी, खोलाहरू हाम्रा लागि वरदान साबित हुँदैछन् ।


यहाँका गुरुङ अनि मगर, तामाङ,चेपाङ, भुजेल लगायत विविध जातिको रहनसहन, सांस्कृतिक सम्पदा तथा जीवनशैलीले हामीलाई साँच्चै अद्भुत अनुभूति दिलाउँछन् । यसको फेदीमा रहेका आँबुखैरेनी, सत्रसय, बरादी, मार्कीचोक, प्यूघर जस्ता बस्तीमा रहेका ब्राह्मण, क्षेत्री, नेवार, भुजेल लगायत जातिका आआफ्नै संस्कृतिक परम्परा रहेकाछन् । चुलीमा रहेकी भगवती माई आफ्नै विशेष धार्मिक महत्व बोकेर बसेकीछन् ।
समग्रमा हेर्दा यसको विविध पक्ष साँच्चै मानिसको मन लोभ्याउने हिसाबले अब्बल छ । यसको यही महत्वलाई आत्मसात गर्दै आगामी कार्ययोजना बनाउनुतर्फ हाम्रो ध्यान जानु आवश्यक छ ।

सम्भावना :
छिम्केश्वरी विराट सम्भावनाका खातैखातले भरिपूर्ण छ । ती खातका पत्रहरू केलाएर सही योजनाका साथ उचित व्यवस्थापन गर्नसके यो हाम्रा लागि अद्भुत खजाना बन्ने सुनिश्चित छ । हामीले वि.सं. २०६८/०६९ बाट मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा एक सुन्दर ‘स्मार्ट सिटी’ निर्माणको बहस सुरु गर्दै गर्दा त्यही सन्दर्भमा यो छिम्केश्वरी पहाडमा विश्वकै मन लोभ्याउने उत्कृष्ट ‘राष्ट्रिय निकुञ्ज’ को पनि परिकल्पना गरेका थियौँ । म के पनि अनुरोध गर्न चाहन्छु भने सो विषय बहालवाला देखि पूर्व प्रधानमन्त्रीहरुसम्मको जानकारीको विषय बनेको थियो । दुखकासाथ भन्नुपर्ने हुन्छ राज्य वा राज्यका जिम्मेवार व्यक्ति/निकायहरुले यस विषयमा उचित ध्यान दिने ‘कष्ट’ गर्न सकेनन् ।


तर, हामीले हरेस खानु हुँदैन र यो विषयलाई उचित निष्कर्षमा पुर्‍याउने गरी निरन्तर लागिरहनुपर्छ । अर्थात यहाँ एक सुन्दर राष्ट्रिय निकुञ्ज निर्माणको कामलाई सार्थक बनाउनु छ । फेदीदेखि चुलीसम्मको हावापानीको विविधताका आधारमा यहाँ विश्वकै सुन्दर राष्ट्रिय निकुञ्ज निर्माण गर्नु सम्भव छ । यहाँको भौगोलिक बनावटले पनि राष्ट्रिय निकुञ्ज निर्माणका लागि थप अनुकूलता दिएको छ । यसका लागि यहाँका केही बस्तीहरूलाई स्थानान्तरण गरी एकीकृत बस्तीहरू बिकास गर्नुपर्नेहुन्छ । वृक्षारोपण गरी जङ्गल क्षेत्रको विस्तारका साथ धेरै भन्दा धेरै पशुपन्छीका प्रजातिहरू यहाँ विकसित र संरक्षणको योजनासाथ अगि बढ्दा हामी हाम्रो उद्देश्यमा अवश्य सफल हुनेछौँ । पुरै पहाडमा लालीगुराँस फुलाएर यसलाई विश्वकै सबैभन्दा ठूलो ‘लालीगुराँस बगैँचा’ बनाउन सक्छौँ ।


राष्ट्रिय निकुञ्ज निर्माणको योजनालाई अगि बढाउँदा फेदी र चुलीको बीच (१,०००/१,२०० मि. उचाई) पर्ने गरी उपयुक्त ठाउँमा बीस, पच्चीस घरका दरले पन्ध्र, बीस बस्ती बसाउँदा उपयुक्त हुनेछ । ती बस्तीमा त्यहीँका स्थायी बासिन्दा रहनेछन् । ती बस्तीसम्म मात्र सडक यातायात जोड्ने र त्यसपछि चुलीसम्म पैदल(सिँडी) मार्गको व्यवस्था गर्दा ती बस्तीहरू ‘हिल स्टेसन’ बन्नेछन् । त्यहाँ प्रयोग हुने खाना लगायतका अन्य वस्तुहरूमा स्थानीय उत्पादन प्रथमिकतामा रहनेछन् । यसो गर्दा स्थानीयका लागि राम्रो रोजगारीको अवसर मिल्नेछ । पथप्रदर्शकका रुपमा पनि स्थानीय बासिन्दालाई थप मौका हुनेछ । पाहुनाहरूले सडक यातायात पुगेको बिन्दुसम्म सवारी साधन र त्यसपछि पैदल यात्राको क्रममा सोझै निकुञ्जका पशुपन्छी, फूल-वनस्पति, प्राकृतिक दृश्यको रसस्वादन गर्न सक्नेछन् ।
चुलीमा रहेकी भगवती माईको मन्दिरलाई कलात्मक हिसाबले पुनर्निर्माण गरी थप दर्शनीय बनाउँदा धेरै भन्दा धेरै धार्मिक पर्यटकहरूको मन जित्न सकिनेछ । अझ यसको वरपर अलि धेरै जमिनको उपयोग गर्दै सुन्दर पार्क (बगैँचा) निर्माण गर्दा सुनमा सुगन्ध थपिनेछ ।
सङ्घीय, प्रदेश सरकारसँगको अनुमति/समन्वयमा चुलीमा केही मझौला र केही सुविधासम्पन्न पाहुना घर (रिसोर्ट/होटल)हरू सञ्चालन गर्दा यसको महत्व अझ बढ्नेछ । जहाँबाट पाहुनाहरूले बिहानीको मिर्मिरेमा कोठाबाट सुतेकै अवस्थामा एकसाथ सूर्योदय र चाँदी जस्तै टल्केको हिमालको अलौकिक दृश्य देख्नसक्नेछन् । ती पाहुना घरहरू सञ्चालनका सन्दर्भमा ‘शेयर’ को निश्चित प्रतिशत रैथाने बासिन्दाहरूलाई दिने व्यवस्था मिलाउनुपर्छ । यसो हुँदा त्यस क्षेत्रमा लागु हुने सम्पूर्ण परियोजनामा रैथाने बासिन्दाको पनि अपनत्व हुने अनि कार्यक्रम सहजताका साथ लागु गर्न सकिनुका साथै उनीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । निकुञ्ज, पाहुना घर अनि यसैसँग जोडिएर प्राप्त हुने राजश्वको बाँडभाँड स्थानीय, प्रदेश र सङ्घीय सरकारमा न्यायोचित वितरणको व्यवस्था मिलाउँदा सबै तहको अर्थतन्त्रलाई मजबुत बनाउन पनि सहयोग मिल्नेछ ।


अन्त्यमा, आउनुहोस् सबैले हातेमालो गरौँ । प्रकृतिले दिएको यो अनुपम उपहारको पूर्ण सदुपयोग गरौँ । मनोरेल वा केबुलकारको चक्करबाट मुक्त हौँ । सुन्दर राष्ट्रिय निकुञ्जको निर्माणका साथ यस क्षेत्रको अझ समग्र देशको समृद्धिलाई टेवा पुग्ने गरी ‘कोसे ढुङ्गा’को जग बसालौँ ।

• तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button