प्रहार समाचार । काठमाडौं, २७ जेठ २०८२ मङ्गलवार । पदबाट बिदा भएपछिको जीवन सादगीपूर्ण हुने अपेक्षा गरिए पनि पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीले अझै राजसी सुविधा उपभोग गरिरहेको खुलेको छ। उनीहरू राज्यको ढाड चढेर विलासी जीवनशैली कायम राख्न थालेकोप्रति प्रश्न उठ्न थालेको छ।

पूर्वराष्ट्रपति यादवले आफ्नै घर भएकै अवस्थामा मासिक १ लाख ९२ हजार रुपैयाँ भाडा घर वापत गृह मन्त्रालयबाट लिँदै आउनुका साथै मासिक ५० हजार रुपैयाँ अतिरिक्त भत्ता पनि बुझ्दै आएका छन्। अर्की पूर्वराष्ट्रपति भण्डारी छोरीको घरमा बसिरहेकी भए पनि सुरक्षाकर्मीका लागि भनेर छुट्टै घरको नाममा राज्यबाट मासिक १ लाख रुपैयाँ लिइरहेकी छन्। यस्ता सुविधा लिने विषयमा स्पष्ट कानुनी प्रावधान छैन।

त्यति मात्र होइन, दुवै जनाले सवारी चालक, उपसचिव तहका सचिव, कार्यालय सहयोगी सहितको सचिवालय सेवा अझै उपयोग गरिरहेका छन्। उनीहरूले उपभोग गरिरहेका यी सुविधाले पद गइसकेपछि पनि पूर्वराष्ट्रपतिहरू जनताको करमा बाँचेको भन्ने धारणा बलियो बनाइरहेको छ। राजनीतिक मर्यादा र कानुनी सीमाभन्दा बाहिरको यस्ता सुविधा बन्द गरिनुपर्ने आवाज पनि उठ्न थालेको छ।
























