प्रहार समाचार । तनहुँ, २७ जेठ २०८२ मङ्गलवार । तनहुँको भिमाद नगरपालिकामा बालमैत्री स्थानीय शासनको घोषणा तयारीलाई तीव्रता दिँदै अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम हालै सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय, तनहुँको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुखहरू, सामाजिक संघ–संस्था, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्थाका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि लगायत सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रममा बोल्दै नगर प्रमुख दधिराज सुवेदीले बाल अधिकार सुनिश्चित गर्न पालिकाले आवश्यक सबै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । नगर उपप्रमुख शारदा खनाल , सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्य लगायतले सबै सरोकारवालाको सहकार्यमार्फत लक्ष्य हासिल गर्न सकिने धारणा राखेका थिए ।
जिल्ला बालअधिकार समिति तनहुँकी अध्यक्ष तथा निवर्तमान म्याग्दे गाउँपालिका प्रमुख मायादेवी रानाको सभापतित्वम भएको कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, पालिकास्तरीय संरचना, ५१ सूचकहरू तथा कार्यान्वयनका चरणहरू सम्बन्धी विषयमा सफल बरालले सहजीकरण गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागी सबैले भिमाद नगरपालिकालाई २०८३ मङ्सिर ४ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्न आवश्यक तयारी तथा प्रक्रिया पूरा गर्न आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

बालमैत्री शासनतर्फको यात्रामा भिमाद नगरपालिकाको यो सक्रियता स्थानीय बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि महत्त्वपूर्ण पाइला भएको सहभागीहरूको धारणा थियो।
























