गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आज दिउँसो र राति आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र कोशी प्रदेशमा वायुमण्डलीय प्रणाली सक्रिय रहेकाले स्थानीय बदली र वर्षाको सम्भावना उच्च छ।आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित गण्डकी लगायतका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। देशका पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव पारेको छ भने कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव अझै देखिएको छ। बाँकी भूभागमा भने मौसम सफा वा आंशिक बदली मात्र रहने बताइएको छ।
रातिको समयमा पनि मौसम त्यही ढाँचामा निरन्तर रहने देखिएको छ। गण्डकीसहित कोशी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहँदा देशका अन्य भागमा आंशिक बदली रहनेछ। कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
























