हेडलाईनसमाचारगण्डकी

पालुङटारमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सञ्चालन

• विजय अधिकारी ( प्रहार संवाददाता ) । गोरखा, २६ जेठ २०८२ सोमवार । अव गोरखा, लमजुङ र तनहुँका बासिन्दाले बैंकिङ सेवा लिन सदरमुकाम धाउनुपर्ने आवश्यकता हटेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङटार नगरपालिका–५ मा आफ्नो ३०६ औँ शाखा स्थापना गरी सेवा सुरु गरेको छ।

देशकै पुरानो र भरपर्दो बैंकका रूपमा परिचित राष्ट्रिय वाणिज्य बैंकले आर्थिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै ग्रामीण भेगसम्म सेवा पुर्‍याउने अभियान अन्तर्गत पालुङटार शाखा सुरु गरेको हो। यस शाखाबाट ग्राहकले पेंशन सेवा, सुन धितो कर्जा, व्यवसायिक तथा व्यक्तिगत कर्जा, क्यू आर कोडमार्फत भुक्तानी, मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

बैंकका सूचना अधिकारी तेजेन्द्र सापकोटाका अनुसार शाखामा दक्ष र ऊर्जाशील युवा कर्मचारीहरू खटाइएका छन्, जसले डिजिटल सेवा सिकाउने, छिटो सेवा दिने र ग्राहकलाई सन्तुष्ट बनाउने उद्देश्य राखिएको छ। विशेषगरी सेवा निवृत्त कर्मचारी, साना व्यवसायी, किसान, विद्यार्थी, महिला र जेष्ठ नागरिकलाई लक्षित गरी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताइएको छ।

शाखा विस्तारसँगै बैंकले वित्तीय साक्षरताका कार्यक्रम, बचत तथा कर्जा सम्बन्धी सचेतनामूलक अभियान, स्थानीय विद्यालयहरूसँग सहकार्य जस्ता सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ। राष्ट्रको समृद्धि र नागरिकको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित बैंकले पालुङटारमा आफ्नो उपस्थिति सुनिश्चित गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button