हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सुधार : दुई हजारभन्दा बढी जनशक्ति थपिँदै

प्रहार समाचार । काठमाडौँ, २६ जेठ २०८२ सोमवार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेयता स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका कार्यहरू अघि बढाएका छन्। उनको नेतृत्वमा सरकारी स्वास्थ्य संस्थाहरूको सेवा प्रभावकारिता बढाउन र बिरामीहरूको चाप व्यवस्थापन गर्न २ हजार १०२ जना स्वास्थ्य जनशक्ति थप्ने प्रक्रिया अघि बढाइएको छ।

अर्थ मन्त्रालयसँगको सहमतिमा उनले स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न प्रशासन सहसचिव ऋषि आचार्यको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेका थिए, जसले विस्तृत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार पारेको छ।

यो प्रतिवेदनअनुसार देशको प्रमुख संघीय अस्पतालहरूमा आवश्यक जनशक्ति थपिनेछ। वीर अस्पतालमा मात्र ७ सय ७७ जना, वीर अन्तर्गतको ट्रमा सेन्टरमा ९०, कान्ति बाल अस्पतालमा ७८, परोपकार प्रसूति अस्पतालमा १ सय ७३ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ सय १७ जनशक्ति थप गरिनेछ। त्यस्तै, कोशी अस्पतालमा १ सय ७२, नारायणी अस्पतालमा ३ सय १८, भेरी अस्पतालमा १ सय ७९, गजेन्द्रनारायण स्मृति अस्पतालमा १ सय ४४ र भरतपुर अस्पतालमा ४ सय ६५ जना जनशक्ति थपिनेछ। डडेलधुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा ४० जना थप गर्न प्रस्ताव गरिएको छ।

स्वास्थ्य मन्त्रालयको पहलमा यसपटक पहिलोपटक पाँच वर्षसम्म हरेक वर्ष जनशक्ति सर्वेक्षण गरिने योजना बनाइएको छ। यसले दूरगामी रूपमा जनशक्ति अभावको समस्या समाधान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। मन्त्री पौडेलले प्रतिवेदन ग्रहण गर्दै सरकारी अस्पतालमा चाप अत्यधिक भए पनि जनशक्ति लामो समयसम्म थप नहुँदा सेवा दिन समस्या भएको भन्दै अब केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे।

पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सशक्त बनाउने, औषधिको आपूर्ति सुदृढ गर्ने, अस्पतालहरूमा अनिवार्य रूपमा विशेषज्ञ चिकित्सक राख्ने, दूरदराजमा सञ्चालन भइरहेका प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा विस्तार गर्ने, र २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराउनेजस्ता कार्यक्रमहरूमा पनि उल्लेखनीय सुधार ल्याएका छन्। उनका अनुसार स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न ‘मोबाइल हेल्थ क्लिनिक’ कार्यक्रम पनि सुरु गरिएको छ ।

मन्त्री पौडेलको कार्यकालमा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवा विस्तार दुवैमा ध्यान दिइएको छ। उनी नेतृत्वको मन्त्रालयले सरकारी अस्पतालहरूमा डिजिटल प्रणालीमार्फत बिरामीको रेकर्ड व्यवस्थापन, सेवा मूल्याङ्कन प्रणाली लागू, र अस्पताल प्रशासनको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

स्वास्थ्य सेवा क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन जनशक्ति व्यवस्थापन, सेवा स्तरीकरण, र नागरिकको सहज पहुँचमा केन्द्रित नीतिहरू मन्त्री पौडेलका प्रमुख प्राथमिकता बनेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार जनशक्ति संरचना पुनरावलोकन, पूर्वाधार सुधार र पारदर्शिता कायम गर्दै मन्त्रालयले सुधारको गति अझ तीव्र बनाउने योजना बनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button