हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगर कार्यपालिकाको नीति तथा कार्यक्रम तयारी : एक अर्बभन्दा बढी अनुदान र ११ विद्यालयमा प्रधानाध्यापक नियुक्तिको निर्णय

प्रहार समाचार । तनहुँ , २६ जेठ २०८१ सोमवार । तनहुँको व्यास नगरपालिकाको २१६औं नियमित कार्यपालिका बैठकले आगामी नगरसभा लक्षित नीति तथा कार्यक्रम तयार गर्न सुझाव संकलन, संघीय सरकारबाट प्राप्त एक अर्बभन्दा बढी अनुदानबारे जानकारी, र नगरका ११ वटा विद्यालयमा प्रधानाध्यापक नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरू गरेको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख इन्दिरा दरै, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरे, कार्यपालिका सदस्य तथा सम्बन्धित शाखा प्रमुखहरूको उपस्थिति थियो।

बैठकले यही असार १० गते बस्ने ४३औं नगरसभाका लागि नीति तथा कार्यक्रम तयार गर्न सरोकारवालाहरूबाट सुझाव संकलन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। आगामी जेठ २५ गतेसम्म सुझाव माग गरिनेछ। साथै, नगरको संगठन संरचना संशोधन गर्न सुशासन समितिलाई प्रस्ताव तयार गर्न निर्देशन दिइएको छ भने आवश्यक विधेयक संशोधन प्रस्ताव तयार गर्न विधायन समितिलाई जिम्मेवारी तोकिएको छ।

संघीय सरकारबाट व्यास नगरपालिकाका लागि विनियोजित विशेष, समपूरक, समानीकरण तथा राजस्व बाँडफाँड शीर्षकमा एक अर्ब २७ करोड २९ लाख ४३ हजार एक सय उन्नाइस रुपैयाँ (रु १,२७,२९,४३,११९) अनुदान प्राप्त हुने प्रारम्भिक जानकारी बैठकमा सार्वजनिक गरिएको थियो। यसले आगामी आवमा नगरका पूर्वाधार तथा सेवा प्रवाहलाई सशक्त बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैठकले व्यास नगर क्षेत्रभित्रका ११ वटा विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्राप्त प्रस्तावहरूलाई अनुमोदन गर्ने निर्णयसमेत गरेको छ। लामो समयदेखि नेतृत्वविहीन रहेका विद्यालयमा स्थायी शैक्षिक नेतृत्व कायम गर्न यो कदम प्रभावकारी हुने विश्वास लिइएको छ।

यसैबीच, आ सहयात्री समाज नेपालको आयोजनामा सम्पन्न “मानव बेचविखन नियन्त्रण तथा सडक सुरक्षा” विषयक अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीशको सहभागितामा भएको कार्यक्रमप्रति नगरपालिकाले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ। निर्णयहरू सार्वजनिक गर्दै प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष सुरेश थापाले नगरवासीलाई आगामी योजना र कार्यक्रमप्रति सरोकार राखी सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button