प्रहार समाचार । काठमाडौं, २६ जेठ २०८२ सोमवार । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयमा सार्वजनिक इन्धन वितरणमा ठूलो अनियमितता भएको उजागर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका कास्की प्रमुख चित्तरञ्जन दाससहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उजुरीअनुसार बिलमा उल्लेख भएभन्दा बढी डिजेल पठाइएको पुष्टि भएपछि आयोगले मुद्दा अगाडि बढाएको हो।

अनुसन्धानले देखाएअनुसार प्रमुख दासले डिलर संघका प्रतिनिधिहरू जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँग मिलेमतो गर्दै निगरानी प्रणाली बन्द गरी बढी डिजेल पठाउने बदनियतपूर्ण योजना कार्यान्वयन गरेका थिए। १२ हजार लिटर पठाउनु पर्ने डिजेलको सट्टा १५ हजार ३८ लिटर डिजेल गन्तव्यतर्फ पठाइएको पाइएको छ। उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका–२७ मा नियन्त्रणमा लिइएको थियो।
आयोगले प्रतिलिटर १ सय ४७ रुपैयाँका दरले तीन हजार ३८ लिटर बढी डिजेल हिनामिनाबाट ४ लाख ४८ हजार ५ सय २५ रुपैयाँ बराबरको राजस्व घाटा भएको दाबी गरेको छ। सोही अनुसार प्रमुख दास, ट्याङ्कर चालक निर्मला थापा, डिलर संघका प्रतिनिधिहरू र पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेलविरुद्ध समान बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
























