हेडलाईनसमाचारबन्दीपुर

तनहुँको बन्दिपुरमा सूचना तथा सञ्चार प्रविधि प्रशिक्षण : विद्यार्थीमा डिजिटल सीप विकासमा दियो नयाँ ऊर्जा


प्रहार समाचार । तनहुँ, २६ जेठ २०८२ सोमवार । तनहुँको बन्दिपुरमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले आई सिटि बुट क्याम्प सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा कक्षा ११–१२ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी संचालन गरिएको उक्त सघन तालिम यहि जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको हो।

तालिममा तनहुँ जिल्लाका ९ वटा स्थानीय तहका विद्यालयहरूबाट प्रतिनिधित्व गर्दै ३० जना छात्रछात्राको सहभागिता रहेको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यले बताए ।

समापन समारोहमा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले भविष्यमा जुनसुकै पेसा अपनाए पनि कम्प्युटर र डिजिटल प्रविधिको ज्ञान अपरिहार्य हुने उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाउने विश्वास व्यक्त गरे।

सहभागी विद्यार्थीहरू तर्फबाट भिमाद नगरपालिकाका आदित्य थापा र शुक्लागण्डकी नगरपालिकाकी गरीमा उपाध्यायले १० दिनसम्म प्राप्त प्रशिक्षणले आफूहरूको उच्च अध्ययनको क्षेत्र छनोट गर्न र व्यवहारिक ज्ञान बढाउन मद्दत पुगेको प्रतिक्रिया दिए। तालिममा प्रसिद्ध भुषाल, दीपक शर्मा र विजय सापकोटाले प्रशिक्षकको रूपमा सहजीकरण गरेका थिए। कार्यक्रमले विद्यार्थीमा डिजिटल क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई आधुनिक प्रविधिप्रति झन् उत्साही बनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button