प्रहार समाचार । काठमाडौँ, २६ जेठ २०८२ सोमवार । गण्डकी प्रदेशका पहाडी भूभागमा आज दिउँसो र राति मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकीसहित कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि यस्तै प्रकारको मौसम देखिने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव बढी देखिएको छ। बिहानैदेखि कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो कोशीका थोरै स्थान तथा अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ।

यस वर्षको मनसुन सामान्यभन्दा १५ दिन चाँडै जेठ १५ गते रातिदेखि कोशी प्रदेश हुँदै नेपाल प्रवेश गरेको हो। तर, प्रवेश गरेदेखि ११ दिनसम्म पनि मनसुन कोशीमै सीमित रहेको छ। सामान्यतया मनसुन नेपाल प्रवेश गरेपछि १२–१५ दिनभित्र देशभर फैलिनुपर्ने भए पनि यसपालि भने अझैसम्म देशका अन्य भागहरूमा विस्तार हुन सकेको छैन। मौसमविद्हरूले अझै केही दिन मनसुन कोशी आसपासमै सीमित रहने अनुमान गरेका छन्।
























