• सुशिल बि क (प्रहार संवाददाता) तनहुँ, २५ जेठ २०८२ आइतवार । तनहुँको म्याग्दे गाउँपालिकाले तीन वर्षको कार्यप्रगति सार्वजनिक गर्दै विभिन्न क्षेत्रका योजनाको विवरण प्रस्तुत गरेको छ। स्थानीय तह निर्वाचन २०७९ पछि निर्वाचित जनप्रतिनिधिहरूको नेतृत्वमा संचालित कार्यक्रमको समीक्षा गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि, पशुपालन, रोजगारी, पूर्वाधार तथा पर्यटन क्षेत्रमा प्राथमिकता दिएको जानकारी दिए।

पशुपालनमा दूधमा प्रतिलिटर रु. १० अनुदान, मासु र सुत्केरी पोषणमा सहयोग, हलगोरु तथा माछा, बोयर बोका वितरणलगायतका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। गरिबी निवारण अन्तर्गत १८३ घरको छाना विस्थापन र लघु उद्यम कार्यक्रममार्फत ९० जनालाई उद्यमी बनाइएको छ। प्रदेश सरकारका नवप्रवर्तन कार्यक्रम तथा स्थानीय अनुदान योजनाबाट ६२ जनालाई रोजगारी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

पर्यटन प्रवर्द्धनमा होमस्टे स्थापना कार्यक्रममार्फत बद्र्याङ, छाङगैहा, हर्कपुर र मनपाङ क्षेत्रलाई समेटिएको छ। खानेपानी योजनामा अर्चले माझीलाङ भावर खानेपानी योजना, लिफ्टिङ प्रणाली, बोरिङ र विद्युत् भुक्तानीजस्ता काम सम्पन्न भएका छन्। सामाजिक सुरक्षामा सुत्केरी भत्ता, एकल पुरुष र अपाङ्ग गरिबलाई मासिक भत्ता वितरणजस्ता कार्यक्रम समावेश गरिएका छन्।

पूर्वाधार विकासतर्फ गाउँपालिका र वडास्तरमा सयौं पूर्वाधार योजनाहरू कार्यान्वयनमा आएको जनाइएको छ। तीन वर्षमा गाउँपालिकाले १३० वटा कानुन निर्माण गरेकोमा ९० वटा पहिलो कार्यकाल र ४० वटा दोस्रो कार्यकालमा बनेका छन्। काठेपुल विस्थापन गरी स्टील पोल वितरण, ल्याण्डफिल्ड साइटमा विद्युत विस्तार, चिस्यान केन्द्र स्थापनाजस्ता कामले सेवा प्रवाहमा सुधार आएको अध्यक्ष श्रेष्ठको भनाइ थियो।

























