• सुशिल बि क. ( प्रहार संवाददाता) तनहुँ,२५ जेठ २०८२ आइतवार । लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत महाराजगंज नौनता ग्राम सुनौली बस्ने २० वर्षीय दिपक कुमार र १८ वर्षीय किशोर रहेका छन्। उनीहरू आइतबार बिहान लागूऔषध डाईजेपाम २०० एम्पुल, फेनारगन २०० एम्पुल, बुप्रेनोर्फिन २०० एम्पुल र नाइट्राभेट ९० ट्याब्लेटसहित पक्राउ परेका हुन्।
प्रहरीका अनुसार भैरहवाबाट बाग्लुङतर्फ जाँदै गरेको जिएए ०१–२६ नम्बरको यात्रुबाहक बसमा सवार उनीहरूलाई अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो। शङ्कास्पद गतिविधि देखिएपछि प्रहरीले गहिरो चेकजाँच गर्दा बसमै लुकाइराखिएको अवस्थामा उक्त परिमाणको लागूऔषध बरामद गरिएको हो।
पक्राउ परेका दुुवै जनालाई लागूऔषध (नियन्त्रण) ऐन अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुझाइएको छ। प्रहरीले सीमा क्षेत्र हुँदै नेपाल भित्रिने गैरकानुनी लागूऔषध कारोबारविरुद्ध निगरानी कडा पारिएको जनाएको छ। साथै, सो घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
























