हेडलाईनसमाचारगण्डकी

वालिङमा डा.वाग्लेको प्रहार : स्वर्गको टुक्रा नेपालमा स्वर्गको अनुभूति कहिले हुने ?

प्रहार समाचार । वालिङ,२४ जेठ २०८२ शनिवार । “स्वर्गको टुक्रा नेपालमा स्वर्गको अनुभूति कहिले हुने?” यस्तै प्रश्नसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय उपसभापति तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले स्थापित दलहरूलाई कडा आलोचना गर्दै नेतृत्व परिवर्तनको आवश्यक्तामा जोड दिएका छन् ।

वालिङमा आयोजित रास्वपाको खुल्ला सभामा आज बोल्दै उहाँले देशका प्रमुख दलहरूले दशकौं नेतृत्व सम्हाले पनि नेपाली जनताले दुख मात्र पाएको बताए। सुन्दर मुलुक नेपालमा नागरिकले स्वर्गको अनुभूति गर्न नसकेको कारण नयाँ शक्ति र सोचको प्रतिनिधित्व गर्न रास्वपाको उदय भएको वाग्लेले उल्लेख गरे ।

सभामा परिवर्तनको आह्वान गर्दै डा. वाग्लेले विकृति र विसङ्गतिको अन्त्य गरी सुशासन स्थापनाका लागि रास्वपाले दृढ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा केन्द्रिय सदस्य मेघबहादुर आले, कुसुम महर्जन, गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाठी, संघीय संगठन विभाग प्रमुख झविलाल डुम्रे, पूर्वमन्त्री जिता बराललगायत नेताहरूले २०८४ को निर्वाचनमा आमूल परिवर्तनको सन्देश जनतामाझ पुर्‍याउन आग्रह गरे। कार्यक्रम रास्वपाका वालिङ नगर अध्यक्ष सुरेन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत नगर उपसभापति पुष्पा अर्यालले गरेका थिए ।

रास्वपाको वालिङ नगर समितिले आयोजित दुई चरणको भेलामा विभिन्न वडाहरूमा नयाँ नेतृत्व चयन गरिएको छ। वालिङका वडा नं १, २, ४, ९, र १४ मा सम्पन्न भेला तथा अधिवेशनमार्फत ७ सदस्यीय वडा समितिहरू गठन गरिएको छ। तीमध्ये वालिङ–१४ मा सूर्यप्रसाद डुम्रे, वालिङ–१ मा भवानीप्रसाद ढुङ्गाना, वालिङ–२ मा अमृत आले, वालिङ–४ मा शेरबहादुर थापा र वालिङ–९ मा भूपराज डुम्रेको संयोजकत्वमा नयाँ समिति गठन भएका छन्। पार्टीको सांगठनिक विस्तारसँगै रास्वपा वालिङमा चुनावी तयारीको संकेत देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button