हेडलाईनसमाचारगण्डकी

गण्डकी कोटिहोममा पाँच लाख भक्तजनको सहभागिता : २१ करोड दीप प्रज्वलन

प्रहार समाचार । कास्की, २४ जेठ २०८२ शनिवार । कास्कीको पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ इतिहासकै भव्य र अभूतपूर्व धार्मिक आयोजनामा परिणत भएको छ। महायज्ञमा देशैभरबाट झन्डै पाँच लाख भक्तजनको सहभागिता रहेको छ, जुन नेपालमा अहिलेसम्म कुनै पनि धार्मिक कार्यक्रममा देखिएको सबैभन्दा ठूलो भीड हो।

महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिबारको दिन मात्र करिब ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेका थिए। यति ठूलो भिड व्यवस्थापन गर्न आयोजकलाई हम्मे परेको भए पनि कुशल व्यवस्थापनका कारण कुनै अप्रिय घटना नभएको जानकारी उनले दिए।

यसपटकको कोटिहोममा निर्जला एकादशी तथा एकै दिनमा भएको २१ करोड दीप प्रज्वलनले भक्तजनको उपस्थिति अझै उल्लेखनीय बनाएको देखिन्छ। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार बिहान १० बजे शुरू भएको दीप प्रज्वलन कार्यक्रम साँझ ६ बजे २१ करोड दीप बल्दासम्म निरन्तर चल्यो। यो हालसम्मकै सबैभन्दा ठूलो दीप प्रज्वलन भएको आयोजकको दाबी छ।

विविधता र संस्कृतिको संगम :

महायज्ञमा भागवत मञ्जरी राधिका दासीले फरक समुदायको पहिरनमा कथा वाचन गर्दै विविध संस्कृतिको सम्मान गरेकी छन्। शनिबार उनले क्षेत्री समुदायको गुन्यू–चोलीमा कथा सुनाइन् भने यसअघि उनले गुरुङ समुदायको पहिरनमा कथा वाचन गरेकी थिइन्। उनी जेठ १७ देखि ३१ गतेसम्म श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन्।

भक्तजनको भीडले यातायात प्रभावित :

भीडको चापले पोखराको सार्वजनिक यातायात सेवासमेत प्रभावित भएको थियो। जिल्ला ट्राफिक कार्यालय, कास्कीबाट खटिएका ट्राफिक प्रहरीलाई महायज्ञस्थल प्रवेश गर्ने बिरौटाको सडकमा ट्राफिक व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । व

महायज्ञमा उल्लेखनीय दान :

महायज्ञमा मानव सेवा फाउन्डेसनको आश्रम निर्माण तथा अनाथ बालबालिकाको सहयोगका लागि भक्तजनको दान संकल्प उल्लेखनीय देखिएको छ।

नीलकण्ठ पौडेल (पोखरा–३३) ले ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरेका छन्। राम शरण न्यौपाने (नुवाकोट) ले ४ आना जग्गा प्रदान गरे भने पूर्वमन्त्री हरि पाण्डे र तुलसा पाण्डे (पोखरा) ले २ लाख ५ हजार दान गरे। त्यसैगरी रंगिला पौडेल, वीरबहादुर गुरुङ, हरिमाया बराल, भोलानाथ रेग्मी, किर्तिनिधि पाण्डे, लिटल गार्डेन स्कुल लगायत दर्जनौं व्यक्तिहरूले अनाथ बालबालिकाको अभिभावकत्व लिँदै लाखौं रकम दान गरेका छन्।

भजन प्रतियोगितामा हेमजाको देविस्थान समूह प्रथम :

कोटिहोम अन्तर्गत सम्पन्न राष्ट्रिय भजन प्रतियोगितामा देविस्थान भजन समूह, हेमजा–२५ प्रथम बनेको छ। माछापुच्छ्रे सेवा समाज द्वितीय र बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान तृतीय भएका छन्। प्रतियोगितामा २५६ समूह सहभागी थिए।

विजयी समूहलाई जेठ ३० गते पुरस्कार वितरण गरिनेछ। प्रथम पुरस्कार ३ लाख ५५ हजार ५५५, द्वितीय २ लाख ५५ हजार ५५५ र तृतीय १ लाख ५५ हजार ५५५ नगद रहेको छ। अन्य १२ विधामा उत्कृष्ट घोषित समूहले २५ हजार ५२५ रूपैयाँको पुरस्कार पाउने छन्।

कोटिहोम जेठ ३१ गतेसम्म :

सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्रको विशाल मैदानमा सञ्चालन भएको कोटिहोम जेठ ३१ गतेसम्म जारी रहनेछ। दैनिक रूपमा भइरहेको धार्मिक गतिविधि, प्रसिद्ध सन्तहरूको प्रवचन र राष्ट्रिय कलाकारको प्रस्तुति जारी छ। कोटिहोमले धर्म, संस्कृति र मानव सेवाको संगम प्रस्तुत गर्दै पोखरालाई धार्मिक केन्द्रको रूपमा उजागर गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button