प्रहार समाचार । जुम्ला, २४ जेठ २०८२ शनिवार । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा बहस चुलिँदै गइरहेका बेला पूर्वयुवराज्ञी हिमानी शाह र उनका सुपुत्र पूर्वनवयुवराज हृदयेन्द्र शाह शनिबार जुम्ला पुगेका छन्। हिमानी ट्रष्टद्वारा सञ्चालित सामाजिक सेवाका कार्यक्रमहरूमार्फत सक्रिय देखिँदै आएकी पूर्वयुवराज्ञी शाहलाई जुम्ला विमानस्थलमा स्थानीयबासी र समर्थकहरूले बाजागाजा, ढोलपेटी र नाराबाजीसहित भव्य स्वागत गरे।

पूर्वराजपरिवारको आगमनसँगै स्थानीय स्तरमा चासो र उत्साह बढेको देखिएको छ। उनीहरूले गुठीचौर गाउँ विकास समितिअन्तर्गत पर्ने मनिसाँघुमा निर्माण गर्न लागिएको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेकी हुन्। यो सेवा केन्द्र हिमानी ट्रष्टको अगुवाइमा स्वास्थ्य सेवाबाट वञ्चित क्षेत्रमा मातृशिशु स्वास्थ्यलाई सुदृढ बनाउने उद्देश्यले स्थापना गर्न लागिएको हो।
शिलान्यास कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधिहरूले हिमानी ट्रष्टको सामाजिक उत्तरदायित्व र ग्रामीण भेगमा स्वास्थ्य पहुँच विस्तारप्रति कृतज्ञता व्यक्त गरेका थिए। हिमानी शाहले समेत मातृस्वास्थ्य सेवामा हुने कठिनाइबारे आफू जानकार रहेको बताउँदै ट्रष्टको प्रयासले ग्रामीण महिलाहरूलाई राहत मिल्ने विश्वास व्यक्त गरिन्।

पूर्वनवयुवराज हृदयेन्द्र शाह पनि आमासँगै कार्यक्रममा सहभागी भएका थिए। उनीहरू आजै जुम्लाको काञ्जिरोवा रिसोर्टमा बास बस्ने कार्यक्रम रहेको जनाइएको छ। स्थानीयवासीहरूका अनुसार भोलि उनीहरूले जिल्लाको केही अन्य धार्मिक तथा सामाजिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ।
पूर्वयुवराज्ञी हिमानी पछिल्लो समय विभिन्न जिल्लामा पुगेर सामाजिक सेवामा सक्रिय देखिएकी छिन्। यसले राजसंस्थाप्रति जनभावना थप सशक्त बन्दै गएको संकेत गरेको विश्लेषण गरिँदैछ। तस्बिरहरु: कर्पोरेट खबरबाट
























