प्रहार समाचार । तनहुँ, २४ जेठ २०८२ शनिवार । नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयहरूबाट प्रवाह हुने सूचनालाई एकद्वार प्रणालीमार्फत सञ्चारमाध्यममा पुर्याउन आग्रह गर्ने निर्णय गरेको छ। म्याग्दे गाउँपालिका–६ मनपाङस्थित पर्यटकिय स्थल थानीमाइ मन्दिर परिसरमा आज सम्पन्न घुम्ती बैठकले यस्तो निर्णय गरेको हो ।

महासङ्घका अध्यक्ष धनपति (डिपी) अधिकारीका अनुसार एकद्वार प्रणालीले सूचनाको समानुपातिक वितरणमा पारदर्शिता कायम गर्न मद्दत पुग्नेछ। “जिल्लास्थित सञ्चारमाध्यमलाई दीर्घकालीन रूपमा सुदृढ बनाउनका लागि सूचना प्रवाहको एउटै नाका आवश्यक छ,” अध्यक्ष अधिकारीले भने ।

बैठकले मनपाङ क्षेत्रको पर्यटन प्रबद्र्धनमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिएको छ। सो अवसरमा सबै सञ्चारकर्मीलाई मनपाङको पर्यटन सम्भावनाबारे प्रचारप्रसार गर्न आग्रह गरिएको छ। साथै, मनपाङ गाउँको होमस्टे प्रबद्र्धनका लागि सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न सहयोग गरेकोमा म्याग्दे गाउँपालिकालाई धन्यवाद दिएको छ।

बैठकमा नेपाल पत्रकार महासङ्घ तनहुँका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारी र महासङ्घका सल्लाहकार नारायण खड्कासहित पत्रकारहरूको उपस्थिति रहेको थियो।

























