प्रहार समाचार । कास्की, २४ जेठ २०८२ शनिवार । पोखराबाट तनहुँतर्फ आउँदै गरेको मोटरसाइकल कास्कीको भण्डारढिकमा दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

उदयपुर कटारी नगरपालिका–१ का ३१ वर्षीय भिम बहादुर विक सवार ग १० प ४९९२ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटनामा परेको हो। दुर्घटना भण्डारढिकस्थित सडकको बायाँ किनारमा रोकिराखिएको ढुंगा लोड गरिएको ग १ क ४२०४ नम्बरको टिपरमा ठोक्किएर भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका विकलाई उपचारका लागि तत्काल पश्चिम क्षेत्रीय अस्पताल, पोखरा लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीका अनुसार टिपर सडकको छेउमा रोकीएको अवस्थामा मोटरसाइकल सीधै पछाडिबाट ठोक्किएको थियो। घटनास्थलमै मोटरसाइकल चकनाचुर भएको र चालक गम्भीर घाइते अवस्थामा भेटिएको जनाइएको छ। दुर्घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ।

























