हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको रिस्तीमा ‘एक घर, एक फलफुल बिरुवा’ अभियान

प्रहार समाचार । तनहुँ, २४ जेठ २०८२ शनिवार । रिस्ती विकास समाज, तनहुँले व्यास नगरपालिका–८, बाहुनपोखरा रिस्तीमा ‘एक घर, एक फलफुल बिरुवा’ अभियान अन्तर्गत फलफुलका बिरुवा वितरण गरेको छ। संस्थाका अध्यक्ष नवीनराज पौडेलको जन्मदिनको अवसरमा आर्थिक सहयोग जुटाएर उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा वडाध्यक्ष युबराज गुरुङले गाउँमै आएर उच्च प्रजातिका बिरुवा वितरण गरेकोमा समाज र अध्यक्ष पौडेलप्रति आभार व्यक्त गर्दै सामाजिक सेवामा निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले जन्मथलो र जनताप्रति योगदान गर्नुपर्छ भन्ने सोचका साथ तीन दशकपछि गाउँ फर्किएको र समाजमार्फत फलफुल वितरण गरिएको जानकारी दिए। “फजुल खर्च कटाएर समुदायमै उपयोगी काम गर्न पाउँदा सन्तोष लागेको छ,” उनले भने।

वडाका कृषि प्राविधिक अनिल मिश्रका अनुसार संस्थाले उच्च उन्नत जापानी जातका सुन्तला, जुनार र कागतीका बिरुवा वितरण गरेको हो। आगामी दिनमा ताइवानी जातका आँप, लिची, एभोकाडो, मेवा, अम्बा, अनार लगायतका बिरुवा वितरण गरिने योजनाबारे जानकारी दिइएको छ।

समुद्र सतहबाट ३ हजार ५ सय मिटर उचाइसम्म रोप्न मिल्ने यी बारहमासी फलफुलका बिरुवाले गाउँमा आत्मनिर्भरता र पोषण सुरक्षामा योगदान पुर्‍याउने समाजले जनाएको छ।

यसअघि पनि अध्यक्ष पौडेलले आफ्नो जन्मदिनको अवसरमा वृद्धवृद्धालाई भोजन, सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना र छात्रवृत्ति वितरणजस्ता कार्य गर्दै आएका थिए।

घरदैलोमा निःशुल्क बिरुवा पाउँदा स्थानीयवासीहरु खुसी भएका छन्। उनीहरूले यस्ता अभियानले गाउँको हरियाली र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button