• सुशिल बि. क. ( प्रहार संवाददाता ) तनहुँ, २४ जेठ २०८२ शनिवार । तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित मनपाङमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको सक्रिय भूमिका अपरिहार्य रहेकोमा जोड दिएका छन्। नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजनामा र म्याग्दे गाउँपालिकाको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ‘पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मी र जनप्रतिनिधिको भूमिका’ विषयमा छलफल भएको हो ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मनपाङ गाउँ पर्यटनको दृष्टिकोणले निकै १ क्षेत्र रहेको बताए। उनले गाउँलाई होमस्टे गाउँका रूपमा संवाददाता )विकास गर्दै आन्तरिक पर्यटक भित्र्याउने अभियान अघि बढाइएको जानकारी दिए। “मनपाङ, हर्षपुर, अकला, किल्चोकको अकला जस्ता क्षेत्रहरूको प्रचारप्रसार र संरक्षण अत्यावश्यक छ,” अध्यक्ष श्रेष्ठले भने ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले मनपाङ गाउँपालिकाको सबैभन्दा अग्लो स्थान भएको र यस क्षेत्रका ऐतिहासिक तथा धार्मिक स्थलहरू पर्यटकीय सम्भावना बोकेका भए पनि ओझेलमा परेको उल्लेख गरे। उनले सञ्चारकर्मीलाई ती स्थानहरूको उजागर गर्न अग्रसर हुन आग्रह गरे।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पृथ्वी राजमार्गको नजिकका ग्रामीण बस्तीहरूलाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए। उनले संचारकर्मीहरूलाई सूचना सम्प्रेषण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

वडा नं. ६ का अध्यक्ष हिरालाल गुरुङले वडाभित्र रहेका मनकामना मन्दिर, कोटघर र अन्य स्थलहरूको प्रवर्द्धनमा वडाले नेतृत्व लिएको जानकारी गराए।

नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष धनपति अधिकारीले जिल्लाका विभिन्न पालिकासँग सहकार्य गर्दै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्न महासङ्घले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको बताए। “सञ्चारकर्मीको कलमले स्थानीय पर्यटन प्रवर्द्धनमा ठूलो प्रभाव पार्न सक्छ,” उनले भने।

महासङ्घका सचिव कृष्ण न्यौपानेले यसअघि आँबुखैरेनी र भानुमा पनि यस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी गराए। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, रिपोर्टर्स क्लब नेपाल गण्डकी प्रदेश अध्यक्ष मदन वाग्ले, पत्रकारहरू शङ्करराज नहर्की, हरि खरेल लगायतले आफ्ना धारणा राखेका थिए।

























