• विजय अधिकरी( प्रहार संवाददाता ) । लमजुङ,२३ जेठ २०८१ शुक्रवार । लमजुङको सदरमुकाम बेसीशहरमा ५३औं विश्व वातावरण दिवसका अवसरमा “प्रकृतिको संरक्षण, वातावरण स्वच्छता, प्राणी अनुकूल पर्यावरण अभियानको प्रतिबद्धता” भन्ने नाराका साथ वृक्षरोपण तथा जनचेतनामूलक ऱ्याली सम्पन्न भएको छ।

जन्मदिनमा वृक्षरोपण अभियान नेपालको आयोजनामा भएको कार्यक्रमले जलवायु परिवर्तनका कारण प्राणीहरूको अस्तित्व संकटमा परेकाले प्राणी अनुकूल वातावरण कायम गर्न सबैलाई सचेत बनाउने उद्देश्य लिएको हो।
कार्यक्रमका संयोजक तथा अभियानका परिकल्पनाकार वासुदेव सेढाईले जलवायु परिवर्तन, प्रदूषण तथा विकासको अव्यवस्थित प्रभावका कारण वातावरणीय असन्तुलन बढ्दै गएको भन्दै प्रकृति र प्राणीमैत्री समाज निर्माणका लागि मानव समुदायले तत्काल कदम चाल्नुपर्ने धारणा व्यक्त गरे। उनले वातावरणलाई प्राथमिकता दिँदै सरकारलाई नीति तथा कार्यक्रम बनाउनेतर्फ ध्यान दिन आग्रह गरे।

बेसीशहर–७ मनाङे चौताराबाट सुरु भएको जागरण ¥याली बेसीशहर–८ मा रहेको प्रकृति नारी समाजको भवन परिसरमा पुगेर वृक्षरोपण गर्दै समापन गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालय, आमा समूह, सुरक्षा निकाय, संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता थियो। युनिभर्सल एकेडेमीका विद्यार्थीहरूले साइकल ¥यालीसहित जनचेतनामूलक प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए।

























