प्रहार समाचार । तनहुँ,२३ जेठ २०८१ शुक्रवार । तनहुँको व्यास नगरपालिका–२ निवासी क्याप्टेन तारा मल्ल मर्निङ वाकमा निस्किएपछि तीन दिनसम्म वेपत्ता रहेर अन्ततः मृत अवस्थामा फेला परेका छन्।

गत बुधबार बिहान शान्तिनगर–पाटन जोड्ने मादी नदीको झोलुङ्गे पुलबाट बेपत्ता भएका मल्लको शव आज विहान साराङघाट क्षेत्रको नदिमा मृत अवस्थामा भेटिएको हो ।
बेपत्ताको प्रारम्भिक चरणमै मल्लको मोबाइल, चश्मा र टोपी झोलुङ्गे पुलमै फेला परेपछि उनी पुलबाट हाम फालेको आशंका गरिएको थियो। स्थानीयले सोही दिन बिहान साढे ४ बजेतिर पुल नजिकै ठूलो आवाजसँगै पुल हल्लिएको महसुस गरेका बताएका थिए। त्यसपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमौलीका स्थानीयवासी र छङ्गेली नेवा खलको टोलीले संयुक्त रूपमा खोजी कार्य तीव्र बनाएका थिए।
मल्लको खोजीका लागि विशेष तालिमप्राप्त गोताखोर टोली समेत परिचालित गरिएको थियो। विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका क्याप्टेन मल्लको अप्रत्याशित निधनले स्थानीय क्षेत्रमा शोकको छाँया छाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























