प्रहार समाचार । काठमाडौं, २२ जेठ २०८२ बिहीवार । नेपाल प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता नियुक्त गरिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयले आज विज्ञप्ति जारी गर्दै घिमिरेलाई प्रवक्ता तोकिएको जानकारी गराएको हो।

प्रवक्ता घिमिरेलाई नेपाल प्रहरीले सम्पादन गर्ने जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यमा आधारित रहेर सञ्चारमाध्यममा सम्प्रेषण गर्न जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ। डीआईजी घिमिरेसँग सम्पर्क गर्न चाहनेहरूका लागि फोन नम्बर ९८५१२९२१११ र ईमेल [email protected] उपलब्ध गराइएको छ।
यससँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई सह–प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिइएको छ। थापा पनि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।


























