हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरको सडक विस्तारमा मापदण्डको उल्लंघनः निर्णय कमजोर हुँदा विकास कार्य अस्तव्यस्त

प्रहार समाचार । तनहुँ, २२ जेठ २०८२ बिहीवार । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत हाल पृथ्वीराजमार्गको विस्तार तीव्र गतिमा अघि बढिरहेको छ। तर, सडक विस्तारको यो राष्ट्रिय परियोजनाले तनहुँको सदरमुकाम दमौली बजारमा भने रूप फेरिनुको सट्टा कुरुप रूप लिँदै गएको देखिन्छ। कारण हो – व्यास नगरपालिकाको अनिर्णय, जनप्रतिनिधि हरुको असक्षमता, मापदण्डको स्पष्ट पालना नहुनु र सरोकारवालाबीच समन्वयको अभाव। तस्बिरहरु : प्रहार अनलाईन मिडिया ।

सडक विस्तारको क्रममा कतै ७२ फुट, कतै ७५ फूटमा घर भत्काइएको छ भने कतै ८२ फुटमा, जुन स्पष्ट मापदण्डविहीन कार्यप्रणालीको प्रमाण हो। अहिले सडक पिचको काम अन्तिम चरणमा पुगेको छ तर पैदलयात्रीका लागि फुटपाथ निर्माण गर्न ठाउँ अभाव देखिएको छ। कतिपय ठाउँमा फुटपाथको जग बसिसकेको अवस्थामा छेउकै घर भने अझै नहटाइएको पाइएको छ। कतै बिजुलीको पोल नै फुटपाथको बीचमा गाडिएको छ। यस्तो अव्यवस्थित योजना कार्यान्वयनले ‘सुन्दर व्यास नगर’को परिकल्पनालाई अवरुद्ध तुल्याउने स्थानीय बासिन्दाको चिन्ता छ।

व्यास नगरपालिका वडा नं २ का बासिन्दा वीरन्द्र श्रेष्ठ भन्छन्, “मैले त मापदण्डअनुसार ८२ फुटमै घर हटाएँ तर मेरो छेउको घर भने उस्तै छ। न फुटपाथको नाला मिल्यो, न घरको पानी व्यवस्थापन।” एकै पालिकाभित्र फरकफरक मापदण्डले नालामा छत र शौचालयको फोहोर मिसिने समस्या चुलिएको छ। कतै चिटिक्क फुटपाथ बनेको छ भने आडैमा उभिएको घर र बीचमै गाडिएको पोलले दृश्य कुरुप बनाएको छ। यस्तो असमान र अवैज्ञानिक विकास प्रक्रियाले व्यास नगरको संरचनागत योजना र शहरी स्वरूपमै प्रश्न उठाएको छ।

सडक विस्तारसँगै फुटपाथ र नालासहितको एकीकृत पूर्वाधार निर्माण गर्नुपर्ने सरकारी नीति रहेको भए पनि घरधनीहरूको अटेरी, नगरपालिकाको ढिलासुस्ती र वडास्तरीय निष्क्रियताका कारण अहिलेको अवस्था देखिएको हो। अब सम्बन्धित निकायले मापदण्ड स्पष्ट गर्दै सबैको लागि समान र समावेशी निर्णय लिने हो भनेमात्र व्यास नगरले व्यवस्थित र आधुनिक स्वरूप लिन सक्छ भन्ने स्थानीयहरूको विश्वास छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button