प्रहार समाचार । तनहुँ, २० जेठ २०८२ मङ्गलवार । नेपाल मगर संघ व्यास नगर समिति, दमौलीको आयोजनामा तथा व्यास नगरपालिकाको समन्वयमा व्यास नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा मगर भाषा र अक्खालिपी कक्षा सञ्चालनलाई बिस्तार गरिंदै लगिएको छ ।

यसै क्रममा व्यास–२ स्थित बालमन्दिर माध्यमिक विद्यालय र सत्यवती माध्यमिक विद्यालयमा मगर भाषा पढाइको औपचारिक पढाइको थालनी आजबाट सुरु गरिएको छ । दुबै विद्यालयका प्रधानाध्यापक राजेन्द्र खनाल र इन्द्रप्रसाद पौडेलले मातृभाषामा शिक्षाले बालबालिकाको भाषागत र सांस्कृतिक पहिचान जोगाउन सहयोग पुग्ने बताएका छन् ।

यसअघि २०८१ माघ महिनामा व्यास–१४ स्थित केशवटार माध्यमिक विद्यालयमा मगर भाषा पढाइ सुरु गरिएको थियो। उक्त विद्यालयमा सरस्वती पूजाको अवसरमा आयोजित विशेष कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले मगर भाषाको कक्षा उद्घाटन गरेका थिए। प्रमुख न्यौपानेले स्थानीय पाठ्यक्रम निर्माणको जिम्मेवारी स्थानीय तहमा रहेको उल्लेख गर्दै संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले व्यास नगरपालिकाले पाठ्यक्रम निर्माण गरी कार्यपालिका बैठकबाट पारित गरेर कार्यान्वयनमा ल्याएको जानकारी दिए।
उनले गुरुकुल, मदर्सा, मगर, गुरुङजस्ता भाषा र संस्कृति संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको बताए। कार्यक्रममा व्यास नगरका संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठले नेपाल विविध जातजातिको सुन्दर फूलबारी भएको उल्लेख गर्दै सबै भाषा, संस्कार र संस्कृतिको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगर, व्यास नगर अध्यक्ष रिमा आले, नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव नन्दु थापा मगरलगायतको उपस्थिति रहेको थियो।
हाल व्यास नगरपालिकाभित्र ७२ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। नेपालमा हालसम्म १ सय २४ वटा भाषामा मातृभाषामा शिक्षा दिन सकिने कानुनी प्रावधान छ। मगर भाषा कक्षाको सुरु गरिएको यो प्रयास मातृभाषा शिक्षाको प्रवर्द्धन र भाषा संरक्षणतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।



























