प्रहार समाचार । तनहुँ, २० जेठ २०८२ मङ्गलवार । महिलासम्बन्धी नीतिनिर्माणमा सिधा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिकाले आज आर्थिक वर्ष २०८२/०८३ का लागि महिला सशक्तीकरण कार्यक्रम तर्जुमा गर्न विशेष परामर्श बैठक आयोजना गरेको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख ईन्दिरा दरैको नेतृत्वमा सम्पन्न बैठकमा महिला जनप्रतिनिधि, विभिन्न दलका नेतृहरू, सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील महिलाहरूको उल्लेखनीय उपस्थिति थियो।

बैठकमा सहभागी महिलाहरूले व्यवहारिक र प्रभावकारी कार्यक्रमको खाँचो औंल्याउँदै रोजगारी सिर्जना, सीपमूलक तालिम, शिक्षामा पहुँच विस्तार, लैङ्गिक समानता र हिंसाविरुद्धको सशक्तिकरणलाई प्राथमिकतामा राखेर महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे। उनीहरूले महिलाको वास्तविक आवश्यकताअनुसार नीतिगत हस्तक्षेप हुनुपर्नेमा जोड दिए।

व्यास नगरपालिकाले प्राप्त सुझावहरूलाई नीति तथा कार्यक्रममा समेटी आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ। यस्तो परामर्श प्रक्रियाले नीतिगत निर्णयमा महिलाको आवाज समेट्न सहयोग पुग्ने र महिलामैत्री कार्यक्रम निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।


























