हेडलाईनसमाचारबागमती

सरकारको यस्तो आदेश : काठमाडौं चक्रपथ क्षेत्रमा विरोधका कार्यक्रम दुई महिनासम्म गर्न नपाइने

प्रहार समाचार । काठमाडौं, १८ जेठ २०८२ आइतवार । काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानहरूमा अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सेवा, यातायात सञ्चालन र शान्ति सुरक्षामा बाधा पुग्ने भन्दै यस्तो निर्णय लिएको हो। यो निषेधाज्ञा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम २०८२ जेठ १९ गतेदेखि लागू हुनेछ र अधिकतम दुई महिनासम्म प्रभावकारी रहने जनाइएको छ।

जारी आदेशअनुसार अबको दुई महिनासम्म सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिणतर्फ बालकुमारी क्षेत्र र बल्खु क्षेत्र बाहेकका चक्रपथ भित्र तथा वरपरका सार्वजनिक स्थानहरूमा विरोधका कार्यक्रम गर्न पाइने छैन। विरोध कार्यक्रमहरूका कारण अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायातमा समस्या सिर्जना भएको जनगुनासो आएको भन्दै जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा प्रशासनले उक्त निर्णय लिएको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हस्ताक्षर गरेको सूचनामा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा हुने कार्यक्रम भने तोकिएअनुसार सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ। प्रशासनले सबै पक्षलाई आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन भएमा कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button