• सुशिल बि क. (प्रहार संवाददाता ) तनहुँ, १७ जेठ २०८२ शनिवार । तनहुँको सदरमुकाम दमौली स्थित बुल्दी खोलाबाट ८ हजार १ सय ६८ किलोग्राम फोहर संकलन गरिएको छ। दमौलीका यूवा महम्मद गफ्फार (सुदिप) सहितको नेतृत्वमा आज सम्पन्न वृहत बुल्दी खोला सरसफाई अभियानमार्फत फोहोर संकलन गरिएको हो। व्यास नगरपालिका–१ को करङकाठबाट व्यास नगरपालिका–२ स्थित आदिकवि भानुभक्त क्याम्पस जाने कल्भर्टसम्म फैलिएको सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, टोल विकास संस्था, विद्यार्थी, खेलाडी र विभिन्न क्लबको सहभागिता रहेको थियो।

सो अभियानमा १७ वटा टिम सहभागी थिए। तीमध्ये व्यास नगरपालिका–२ स्थित बाल मन्दिर माध्यमिक विद्यालयले १२१५.८२ किलो फोहोर संकलन गरी प्रथम स्थान प्राप्त गर्यो। विद्यार्थीहरुले पुरस्कारस्वरूप नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । द्वितीय स्थान प्राप्त गरेका लर्ड बुद्ध स्कूलका विद्यार्थीहरुले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गरे । आयोजकले सरसफाइ अभियानलाई मनोरञ्जनात्मक बनाउने उद्देश्यले पुरस्कारको व्यवस्था गरे पनि मुख्य उद्देश्य समुदायमा जनचेतना फैलाउने रहेको जनाएका छन्।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरलाई सफा राख्न यस्ता अभियान प्रभावकारी हुने बताए। उनले घरबाटै फोहोरको वर्गीकरण गरी संकलन गर्ने कामलाई नगरपालिका अगाडि बढाइरहेको जानकारी दिँदै फोहोरलाई मोहरमा परिवर्तन गर्न थालेको उल्लेख गरे। सहभागी कति पय टिमले घरबाट खोला किनारमा फोहर फालेर उक्त फोहर जम्मा गरेको जनगुनासो पनि त्यस अवसरमा उठेको थियो । यसै बिच अभियानद्वारा एका तर्फ बुल्दि खोला सरसफाई गर्दै गर्ने अर्को तर्क बुल्दि खोलामा सिधै दमौली बजारको ढल मिसाइएको विषयमा भने व्यास नगरपालिकाको तथा स्थानिय जन प्रतिनिधिहरु भने चुप रहेका छन्। यस तर्फ कसले सोच्ने हो ? ठूलो प्रथ्न चिन्ह खडा भएको छ।



























