प्रहार समाचार । तनहुँ, १७ जेठ २०८२ शनिवार । नेपाल रेडक्रस सोसाइटी बेलटारी उपशाखाको २८औं साधारण सभा तथा आठौं अधिवेशन आज सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै व्यास नगरपालिका–११ का वडाध्यक्ष दल बहादुर दुराले रेडक्रस कर्मीहरुले विना स्वार्थ सेवा भावमा काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँका उपसभापति एवं निर्वाचन संयोजक नारायणी अधिकारी, भूमि आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्की, नेपाल शिक्षक महासंघ तनहुँका निवर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल, निवर्तमान वडाध्यक्ष नीर बहादुर खड्का, उपशाखाका पूर्व सभापति भरतराज नहर्की, उपसभापति शोभा बढु अधिकारी, सदस्य झलकराज पौडेल, आजीवन सदस्य रमेश प्रसाद आचार्य र उदयनाथ अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उपशाखाका सभापति कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा भएको र उद्घाटन सत्रमा उपसभापति शोभा बढु अधिकारीले स्वागत मन्तव्य दिएकी थिइन् भने सभापति तिवारीले उपशाखाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदन बन्द सत्रमा सर्वसम्मत रूपमा पारित गरिएको थियो। उद्घाटन सत्रको सहजिकरण सचिव विश्वनाथ अधिकारीले गरेका थिए।

अधिवेशनले कृष्ण प्रसाद तिवारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपसभापतिमा शुशिला देवी शर्मा, सचिवमा विश्वनाथ अधिकारी, कोषाध्यक्षमा रघुनाथ खनाल, उपसचिवमा झलकराज पौडेल, उपकोषाध्यक्षमा लोकराज सेढाईं रहेका छन्। यसै गरि सदस्यहरूमा हरिशचन्द्र कोइराला, श्रीराम कार्की, रामचन्द्र पोख्रेल, शोभा बढु अधिकारी र मेनुका कार्की रहेका छन्। निर्वाचित पदाधिकारीहरूलाई वडाध्यक्ष दल बहादुर दुरा र निर्वाचन समितिका संयोजक नारायणी अधिकारीले प्रमाणपत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना तथा बधाई दिएका थिए।



























