प्रहार समाचार । काठमाडौँ, १५ जेठ २०८२ बिहीवार । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको स्पष्ट पारेका छन्। गणतन्त्र दिवस, २०८२ का अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले गणतन्त्रलाई जनताको जीवनसँग प्रत्यक्ष जोड्न शासकीय चरित्रमा सुधार आवश्यक रहेको बताए।

“हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ,” राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्दै भने, “गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न।”
राष्ट्रपति पौडेलले नागरिकमा निराशा पैदा हुने अवस्था आउन नदिन सबै तहका सरकार र सरोकारवाला जिम्मेवार हुनुपर्नेमा जोड दिए। “जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन,” सन्देशमा भनिएको छ।
उनले नागरिकले खोजेको समृद्धि, रोजगारी, अवसर, स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्यायको प्रबन्ध सम्भव बनाउन आर्थिक विकास अपरिहार्य भएको उल्लेख गर्दै सबैलाई गम्भीर भएर लाग्न आग्रह गरे।

























