प्रहार समाचार । काठमाडौं, १३ जेठ २०८२ मङ्गलवार || राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणलाई केवल भ्रष्टाचारको मामिला भनेर सीमित गर्न नहुने बताएका छन्। यो विषय मानवतस्करीको गम्भीर मुद्दा भएकाले गम्भीर रूपमा छानबिन हुनुपर्ने उनको धारणा छ। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले भिजिट भिसाको नाममा नेपाली नागरिकलाई बेच्ने प्रकरणमा राज्यका निकायहरूकै संलग्नता रहेको आरोप लगाए। उनले गृह प्रशासनले मानवतस्करीसम्बन्धी उजुरीको निष्पक्ष छानबिन गर्न नसकेको भन्दै गृह मन्त्रालयप्रति असन्तुष्टि जनाए।

‘गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको विषय होइन,’ पराजुलीले भने, ‘राजीनामाका आधारमा नै दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनुपर्छ।’ उनले गृह मन्त्रालयले अध्यागमनका कर्मचारीहरूलाई अनुसन्धानको दायराबाट बचाउन रातारात सरुवा गरेको आरोपसमेत लगाए। सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै दोषीहरूलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए। ‘
यो प्रकरण सामान्य होइन,’ उनले भने, ‘यसमा संलग्न जोकोहीलाई कानूनको कठघरामा उभ्याउनुपर्छ।’ उनको भनाइमा गृह मन्त्रालय र गृहमन्त्रीमाथि आशंका बढेकाले दोषी को हो भन्ने प्रश्नमा स्पष्ट उत्तर खोज्नुपर्ने आवश्यकता छ।
























