हेडलाईनसमाचारगण्डकी

हिलो र पोखरीबीच शिक्षा जोगाउने संघर्ष : शिक्षक घिमिरेको उदाहरणीय पहलकदमी

• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, १३ जेठ २०८२ मङ्गलवार । लमजुङको चेलिबेटी सडक खण्डको दयनीय अवस्थाले स्थानीयलाई हैरान बनाइरहेका बेला, बालविकास माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मोहनराज घिमिरे हरेक दिन बाटो सुधारका लागि श्रमदानमा लागेका छन्।

मध्य नेपाल नगरपालिका–१ र २ जोड्ने करिब ४ किलोमिटर लामो चेलिबेटी सडक हाल मनसुनको पूर्वसन्ध्यामा ठूला–साना २३ वटा पोखरीले भरिएको छ। विद्यालय जाने विद्यार्थी चिप्लिएर लड्ने, लुगा र किताब भिज्ने, सवारी साधन चलाउनै नसक्ने अवस्था सिर्जना हुँदा स्थानीय अभिभावक र बटुवामा गुनासो चुलिएको छ।

यही समस्या देखेर सहायक प्रधानाध्यापक घिमिरेले दैनिक एक घण्टा आफ्नै समय छुट्याउँदै श्रमदान सुरु गरेका छन्। कक्षा १० का विद्यार्थी समुन्द्र खवासका अनुसार घिमिरेको पहलले बाटो सुधारको कामले गति लिएको छ र विद्यार्थीलाई सहजता मिल्न थालेको छ।

गत वर्ष गण्डकी प्रदेश सरकारले सो सडकखण्डको सुधारका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि काम तान्द्राङ खण्डमै सीमित भएको र चेलिबेटी खण्ड अझै उपेक्षित बनेको स्थानियको गुनासो छ।

शिक्षक घिमिरेको व्यक्तिगत प्रयासले देखाएको नागरिक चेतना र सामाजिक उत्तरदायित्वले सरकारी संयन्त्रको ढिलासुस्तीलाई पनि घोचो हानेको छ। हिलो र अव्यवस्थाबीच एउटा शिक्षकको यो मनकारी श्रमदानको कदम स्थानीय जागरणको प्रतीक बन्न थालेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button