• सुशिल बि क. ( प्रहार संवाददाता ) । काठमाडौं, ११ जेठ २०८२ आइतवार । सगरमाथा आरोहण गरी नेपाल प्रहरीको गौरव बढाएका प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई प्रहरी नायव निरीक्षक (सई) पदको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

गत जेठ ६ गते प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसी) बैठकको निर्णय अनुसार शेर्पालाई विशेष बढुवा दिइएको हो। उनले २०८२ जेठ ५ गते बिहान ८:५६ बजे सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डासँगै नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकामाथि हुने हिंसा अन्त्यको सन्देशसहितको ब्यानर फहराएकी थिइन्।
समारोहमा आइजिपी थापाले शेर्पाको अदम्य साहस र संगठनको गरिमा अभिवृद्धिमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै पदोन्नतिसँगै थप जिम्मेवारी वहन गर्न निर्देशन दिएका थिए । द शेर्पाको यस कार्यले नेपाल प्रहरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


























