हेडलाईनसमाचारप्रदेश

सगरमाथामा नेपाली चेलीको झण्डा : प्रहरी सहायक निरीक्षक कुञ्जाङ शेर्पाको गौरवपूर्ण सफल यात्रा

प्रहार समाचार । काठमाडौँ, ५ जेठ २०८२ सोमवार ।सुरक्षा सेवामा कार्यरत नेपाली महिलाको साहस र समर्पणलाई विश्वसमक्ष प्रस्तुत गर्दै प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले आज जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेकी छिन्।

८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो संसारकै सर्वोच्च शिखरमा पाइला टेक्दै उनले राष्ट्रप्रेम, आत्मबल र प्रतिबद्धताको असाधारण उदाहरण पेश गरेकी हुन्।

प्रहरी संगठनको प्रतिनिधित्व गर्दै सगरमाथा चढ्ने दुर्लभ उपलब्धि हासिल गर्ने शेर्पाको यो यात्राले सुरक्षाकर्मी महिलाहरूको भूमिकालाई नयाँ उचाइमा पुर्‍याएको छ। जोखिम, चुनौती र कठिनाइको सामना गर्दै उनले देखाएको साहस सम्पूर्ण नेपाली महिलाहरूका लागि प्रेरणादायी बनेको छ। खासगरी सुरक्षामा कार्यरत महिलाहरूका लागि यो एउटा ऐतिहासिक र उत्साहवर्धक क्षण हो।

उनको सफलता केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन, यसले समग्र नेपाली सुरक्षाकर्मी समुदायको मनोबल उच्च बनाएको छ। “साहस, प्रतिबद्धता र राष्ट्रप्रेमको उच्चतम शिखरमा नेपाली चेली” भन्ने नारालाई चरितार्थ गर्दै कुञ्जाङ शेर्पाले महिला सशक्तीकरणको उज्यालो दियो सगरमाथाको चुचुरोमै बालेकी छिन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button