• सुशिल बि. क (प्रहार संवाददाता ) झापा, ५ जेठ २०८२ सोमवार । झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले ठूलो परिमाणमा अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेट भएका कन्टेनर नियन्त्रणमा लिएको छ।

हिंजो साँझ भारतको काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका एनएल ०१ एच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरहरूमा चेकजाँच गर्दा अवैध सामग्री फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा जाँच गर्दा भन्सार छली गरी ल्याइएका ‘ट्र्याक कम्बाइन हार्भेस्टर विथ स्ट्रॉ कलेक्तर एण्ड स्ट्यान्डर्ड एसेसोरिज’ नामक कृषि उपकरणहरू फेला परेको प्रहरीले जनाएको छ। ती सामग्रीहरूको अनुमानित मूल्य करिब तीन करोड एकसठ्ठी लाख रुपैयाँ बराबरको रहेको छ।

प्रहरीका अनुसार बरामद गरिएका कन्टेनर र अवैध सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, ईटहरी, सुनसरी पठाइएको छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
























