प्रहार समाचार, ५ जेठ २०८२, सोमवार — लगातार ६ दिनसम्म गिरावटमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार उकालो लाग्दै १९.३१ अंकले वृद्धि भएको छ। यससहित नेप्से सूचकांक ०.७४ प्रतिशतले बढेर २,६२८.३६ विन्दुमा बन्द भएको हो। आजको बजारमा लगानीकर्ताको आत्मविश्वास आंशिक रूपमा फर्किएको देखिएको छ। कुल १८५ कम्पनीका सेयर मूल्य बढेका छन् भने ६० कम्पनीका सेयर घटेका छन्।

दुई कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन। कुल १ करोड ६२ लाख कित्ता सेयर ७१ हजार २८७ कारोबारमार्फत किनबेच भएको छ, जसको कुल कारोबार रकम ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अधिकांश उपसूचकहरू हरियालीमा बन्द भएका छन्, जसले बजारमा व्यापक रूपमा सुधारको संकेत देखाउँछ। तर प्रविधिक विश्लेषण अनुसार, नेप्से सूचकांक अझै पनि छोटो अवधिको डाउन ट्रेन्डमै रहेको छ। हालसम्म सूचकांकले लगातार ‘लोअर हाई’ र ‘लोअर लो’ बनाइरहेकोले स्पष्ट उकालो सुरु भएको भन्न सकिने अवस्था छैन।

सूचकांकले भोलिको सत्रमा २,६४५ विन्दु पार गरेर त्यसमाथि बन्द गर्न सके मात्र छोटो अवधिको सुधारको आशा गर्न सकिने विश्लेषकहरू बताउँछन्। यद्यपि, दिगो उकालो ट्रेन्डका लागि सूचकांकले २,७०० विन्दु पार गरेर त्यसमाथि उच्च कारोबारसहित बन्द गर्न आवश्यक छ। त्यसो हुन नसके नेप्से तत्कालका लागि डाउन ट्रेन्डमै रहनेछ भने मध्यम अवधिमा साइडवेज रहन सक्छ। दीर्घकालीन रूपमा भने बजार अझै बुलिस (उकालो अपेक्षा गरिएको) स्थितिमा रहेको विश्लेषण गरिएको छ।
























