प्रहार समाचार, अमेरिका – ५ जेठ २०८२, सोमवार
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ, जुन हड्डीसम्म फैलिएको बीबीसीले जनाएको छ। आइतबार सार्वजनिक गरिएको कार्यालयीय विज्ञप्तिअनुसार, ८२ वर्षीय बाइडेन गत हप्ता पिसाबसम्बन्धी समस्या देखिएपछि चिकित्सककोमा गएका थिए। परीक्षणपछि शुक्रबार उनलाई ‘उच्च श्रेणीको’ प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको हो।

छिटो फैलिन क्यान्सर भए पनि उपचार सम्भव :
क्यान्सर रिसर्च युकेका अनुसार, उच्च श्रेणीको प्रोस्टेट क्यान्सरको अर्थ क्यान्सर कोषहरू तीव्र गतिमा फैलिन सक्ने खालका हुन्छन्। यद्यपि, बाइडेनको क्यान्सर हर्मोन-संवेदनशील भएकाले यसको व्यवस्थापन र उपचार सम्भव रहेको चिकित्सकहरूको भनाइ छ। हाल बाइडेन र उनको परिवारले विभिन्न उपचार विकल्पहरू अध्ययन गरिरहेका छन् ।
राजनीतिक वृत्तबाट स्वास्थ्यलाभको कामना :
जो बाइडेनको स्वास्थ्यबारे खबर सार्वजनिक भएपछि अमेरिकी राजनीतिक वृत्तबाट शुभकामनाहरू आइरहेका छन्। पूर्वराष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले समेत बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। बाइडेनको स्वास्थ्य अवस्थाप्रति देश-विदेशमा चासो बढेको देखिन्छ।
























