प्रहार समाचार । काठमाडौँ,७ बैशाख २०८२ आइतवार । यो काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ मा पर्ने शुक्रपथबाट वंघ (इन्द्र चोक) हुँदै भेडासिंहतर्फ लाग्दा पहिलो चोकमा नवःदेग (भवानी शंकर मन्दिर) को पुनः निर्माण भइरहेको छ।

राजा प्रताप मल्लका पालामा सन् १६७५ ताका निर्माण भएको त्यस बेलाका शक्तिशाली महामन्त्री देवीदास चिकुथिले मन्दिर निर्माण गराएका थिए । यो मन्दिर त्यतिबेलाको अग्लो, कलात्मक र प्रभावशाली संरचना थियो ।
निर्माण समयमा ३ तले प्यागोडा शैलीको मन्दिर १९९० सालको भूकम्पले भत्काइदियो । त्यसपछि पुनःनिर्माण गर्दा मुगल शैलीमा बनाइएको स्थानीयले तस्विर प्रमाणसहित जानकारी दिएका छन् ।
मन्दिरको पुरानो शिलालेखमा ४९ पङ्क्तिको विवरण छ । यसमध्येका २५ पङ्क्तिमा महादेवको स्तुति गरिएको छ । बाँकी पङ्तिमा मन्दिर सञ्चालन, नित्य पूजा र आरती सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।ब्राह्मण पुजारीमार्फत मन्दिरमा नित्य पूजा हुन्छ । प्रत्येक महिनाको पहिलो दिन, पूर्णिमाको दिन र महाशिवरात्रीमा विशेष पूजा गर्ने चलन छ ।

पुनःनिर्माणका क्रममा मन्दिरको तल्लो भागमा ५ तले इटाको भऱ्याङ निर्माण भइरहेको छ । मन्दिरको वरिपरि तले सिँढीमाथि ३ तले मन्दिर निर्माण भइरहेको छ । २०७२ सालको भूकम्पले भत्किनुअघि मन्दिरको गर्भगृह वरिपरि टायल राखिएको थियो । काठका साधारण थाम थिए । माथिल्लो तलामा गुम्बज शैलीको छाना थियो ।

निर्माण कालमा गर्भगृहभित्र रहेको शिवलिङ्ग वरिपरि विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू थिए । जसले हिन्दू धर्मका पञ्चायन देवताको प्रतिनिधित्व गर्छन् । यस कोणबाट मन्दिर भौतिक संरचना मात्र नभइ धार्मिक, सामाजिक तथा सांस्कृतिक त्रिवेणी भएको मान्न सकिन्छ ।
पूर्खाको सिपयुक्त गौरवमा अङ्कित काष्ठकला, मूर्तिकला, वास्तुकला र सामाजिक सहअस्तित्वको संगम हो । मौलिक स्वरुपमा पुनर्जीवित भइरहेको नव देगले काठमाडौँको इतिहासलाई पुस्तान्तरणमा योगदान गर्नेछ । दृश्यात्मक मनमोहकतालाई कायम राख्नेछ । यस्ता अद्वितीय सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनमा सहकार्य गरौँ । – साभार बालेन शाह बालेनको फेसबुक बाट
























