• विजय अधिकारी(संवाददाता) काठमाडौँ, ७ बैशाख २०८२ आइतवार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिए सँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए ।

एसएसपी खनालका अनुसार-जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको हो ।
राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाए सँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको हो ।
एसएसपी खनाल भन्छन्, ‘निषेधित क्षेत्रमा हामीले सुरक्षाकर्मीको सङ्ख्या बढाएका छौँ ।’ प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । बालुवाटार स्थित प्रधानमन्त्रीको निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो सङ्ख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको एसएसपी खनालको भनाइ छ ।
‘काठमाडौँ उपत्यकाको निषेधित ठाउँमा हामीले मजबुत सुरक्षा प्रबन्ध गरेका छौँ ।’ एसएसपी खनालले भने । जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा अनुसार सूचना सङ्कलन गर्न राष्ट्रिय अनुसन्धान विभागबाट पनि सुरक्षाकर्मीहरू परिचालन गर्ने गरी योजना बनाएका छ।
काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् । राप्रपाले प्रदर्शन अनुमति नलिएको हुनाले प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने सुरक्षा रणनीति रहेको एसएसपी बोहराले प्रहार समाचारलाई बताए । यसै बिच गृहमन्गालयले राप्रपालाई निषेधित क्षेत्र नतोड्न विज्ञप्ति मार्फत चेतावनी दिएको छ।

























