हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्राको टोली तनहुँमा

प्रहार समाचार । तनहुँ, २९ चैत २०८१ शुक्रवार । नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ शुरू भएको  पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित शुरू भएको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली हिंजो  साँझ तनहुँ आइपुगेको हो । 

गोरखा दरबारबाट शुरू भएको पदमार्ग पालुङटार सतिघाट हुँदै तनहुँ आइपुगेको हो । रिपुमर्दन गणले सतिघाटबाट भानु नगरपालिकास्थित रूरू भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ । 
पदयात्रा टोलीलाई स्थानीयवासीले बाजागाजा बजाएर स्वागत गरे । उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालगायतले पदयात्रा टोलीलाई स्वागत गरेका थिए ।

  पदयात्रा टोली आज शुक्रबार व्यास नगरपालिका–११ तनहुँसुर दरबार आइपुग्ने कार्यतालिका रहेको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण( ई) का गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिए ।

तनहुँसुर आएर उक्त पदयात्राको झण्डा कालीभञ्जन गणलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।पदयात्रा टोलीलाई स्थानीय तहको समन्वयमा स्वागत गर्ने कार्यक्रम छ । पदयात्रा कार्यक्रमले राज्य एकीकरण गर्दा प्रयोग गरिएका पदमार्गका बारेमा सबैलाई जान्ने अवसर मिल्ने प्रमुख सेनानी कार्कीले बताए। 


तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ । 

केलादीघाटबाट नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरूणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जीतगढीसम्म पुग्ने कार्यक्रम छ । पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज र जितगढी लडाइमा सहभागी गुरूबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी २ सय ७ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा  गर्दै आएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button