• विजय अधिकारी (संवाददाता ) काठमाडौँ, २८ चैत २०८१ विहीवार । विगतमा भएका मागहरू सम्बोधन गरेर तत्काल शिक्षा ऐन जारी गरिनु पर्ने माग सहित ९ दिन देखि काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ सरकार सँग केही विषयमा प्रस्ट हुन प्रारम्भिक छलफल गर्ने भएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधि बिच सहमतिको आधार तयार गर्न आज प्रारम्भिक छलफल हुने भएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको छ । यसअघि पटक,पटक बोलाउँदा पनि शिक्षाक महासङ्घ वार्तामा गएको थिएन ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आजको छलफल कुनै वार्ता नभएको तर महासङ्घले राखेका मागका विषयमा सरकारको सर्त के हो ? प्रस्टता के हो ? र कतिपय विषय मन्त्रीपरिषदबाट पनि निर्णय गर्न मिल्नेछन, त्यो किन गरिएन भन्ने विषयमा प्रस्ट हुनका लागि मन्त्रालयसँग प्रारम्भिक छ्लफलमा बस्न लागेको बताउदै सरकारको स्पष्ट धारणा पछि मात्रै वार्ता हुन सक्ने प्रहार समाचारलाई जानकारी दिए ।

नेपाल शिक्षक महासङ्घका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली प्रारम्भिक छलफलमा सहभागीता रहने अध्यक्ष सुवेदीले बताए ।



























