हेडलाईनसमाचारप्रदेश

शिक्षकहरुको आन्दोलनमा माओवादीको समर्थन : सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनु पर्छ

विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । काठमाडौँ, २५ चैत २०८१ सोमवार ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकार सँग माग गरेको छ।

शिक्षा क्षेत्रमा गुणात्मक सुधार आजको आवश्यकता भएको औँल्याउँदै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै संसद्को विशेष अधिवेशन वा अन्य उपाय बाट शिक्षा ऐन जारी गरी आन्दोलनरत शिक्षकलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

माओवादीले संविधानत : आमनागरिकले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित भए पनि आवश्यक कानुनी र नीतिगत संरचना निर्माण नहुँदा सम्म सङ्घीयताको मर्म अनुरूप शैक्षिक क्षेत्रको पुनर्संरचना हुन नसक्ने उल्लेख गर्दै शिक्षा ऐन जारी गरी कार्यान्वयनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएको छ।

आफ्नो पार्टी नेतृत्वको सरकारले जटिलता बीच विद्यालय शिक्षा विधेयक तर्जुमा गरी संसदमा दर्ता गरेको जनाउँदै माओवादी केन्द्रले सो विधेयकलाई यथाशीघ्र पारित नगरेर सरकारले शिक्षक र विद्यार्थीको पेसा र भविष्यमाथि खेलबाड गरेको आरोप लगाएको छ।


“सरकार गठन भएको १० महिना सम्म आन्दोलनरत शिक्षकको जायज मागलाई बेवास्ता गरिनु तथा शिक्षकको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु विरोधा भाष छ,” प्रवक्ता अग्नि प्रसाद सापकोटाले भने।


शिक्षकका मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै माओवादीले आमजनसमुदायमा समेत शिक्षकका पक्षमा उभिन आह्वान गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button